धनगढी: सामाजिक सञ्जालबाट सुरु भएको प्रेम सम्बन्ध, विवाह र अमेरिकामा सँगै बस्ने सपना अन्ततः हत्या अभियोगसम्म पुगेको छ। सुदूरपश्चिमस्थित कञ्चनपुरको बेल्डाँडीका नरेश भट्ट आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा अमेरिकाको अदालतमा मुद्दा खेपिरहेका छन्। सन् २०२४ जुलाईको अन्तिम सातादेखि बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन। अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी सर्किट कोर्टमा ममता बेपत्ता प्रकरणको सुनुवाइ भइरहेको छ।
बुधबारदेखि बचाउ पक्षले नरेशलाई नै साक्षीका रूपमा उभ्याएर बयान लिन सुरु गरेको छ। इन्कारी बयानका क्रममा नरेशले आफूले ममतालाई कहिल्यै नकुटेको बताएका छन्। यद्यपि नरेशले ममताले पकाएको खाना नखाने र कहिलेकाहीँ उनीसँग पूर्ण रूपमा बोलचाल बन्द गर्ने गरेको पनि अदालतमा बताएका छन्। सुरुमा आफ्नो बेवास्ताले ममता शान्त हुने गरे पनि पछि त्यसले काम गर्न छाडेको उनको भनाइ छ।
उता, मृतक ममताकी साथी सरिता न्यौपानेले भने नरेशले कुटपिट गर्ने गरेको कुरा ममताले आफूलाई बताएको बयान दिएकी छन्। नरेशले ममताको आर्थिक कारोबार नियन्त्रणमा राख्ने गरेको भन्दै सरिताले उनलाई छुट्टै बैंक खाता खोल्न सहयोग गरेको विषयसमेत अदालतमा उठेको छ। अदालतमा प्रस्तुत बैंक अभिलेख र सन्देशहरूले उनीहरूबीचको आर्थिक तथा पारिवारिक विवादलाई थप उजागर गरेका छन्। सन् २०२४ को भ्यालेन्टाइन डेमा ममता साथी सरितासँग बाहिर घुम्न गएको र आफूलाई पनि सँगै जान आग्रह गरेको नरेशले बताएका छन्। नेपाली चाडपर्व नभएको भन्दै आफू नगएको उनको भनाइ थियो।
अदालतमा प्रस्तुत उनीहरूबीचका सन्देशमा पनि सम्बन्धको तिक्तता देखिन्छ। ममताले आफूलाई घरबाट निकालिएको महसुस भएको सन्देश पठाउँदा नरेशले त्यसको अर्थ आफूलाई घरमा स्वागत नगरिएको महसुस गर्नु मात्र भएको व्याख्या गरेका थिए। अर्को संवादमा ममताले विगतका खुसीका दिनहरूको टिकटक भिडियो पठाएपछि नरेशले आक्रोशपूर्ण जवाफ दिएका थिए। त्यसपछि ममताले नेपाली भाषामा आफूलाई आत्महत्याका लागि उक्साउने काम नगर्न आग्रह गरेको सन्देश पठाएकी थिइन्।
नरेशले पनि भविष्यमा ममताले पछुताउनुपर्ने दिन आउने र पैसाका लागि जे पनि गर्न सक्ने आशयका सन्देश पठाएको स्वीकार गरेका छन्। सरकारी वकिलले ती सन्देशलाई धम्की र मानसिक दबाबका रूपमा व्याख्या गरिरहेका छन्। तर, नरेशले नेपाली भाषाका सन्देशको अनुवाद गर्दा अर्थ बिगारिएको जिकिर गरेका छन्। प्रहरी घरमा आएका कारण जागिर र सुरक्षा स्वीकृति गुम्ने डरले तनावमा त्यस्ता सन्देश पठाएको उनको स्पष्टीकरण छ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधिका रूपमा काम गर्थे। सेती प्रादेशिक अस्पताल आसपासका दुई मेडिकलमा उनको लगानीसमेत थियो। व्यवसाय राम्रो चलिरहेका बेला उनी २०७३ साउन १४ गते अमेरिका गएका थिए। अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले अमेरिका पुगेका उनी एक वर्षपछि २०७४ असारमा युएस आर्मीमा भर्ती भएका थिए। पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए।
सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा जोडिएका थिए। २०७७ मंसिर २५ गते विवाह गरेका उनीहरू विवाहको आठ महिनापछि अमेरिकामा सँगै बस्न थाले। करिब एक वर्षअघि उनीहरूले छोरीलाई जन्म दिएका थिए। तर, वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन। सन् २०२४ को सुरुवातदेखि नै उनीहरूबीच विवाद बढ्दै गएको अदालतमा प्रस्तुत विवरणले देखाउँछ।
ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो। जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कुराकानी गरेकी उनको त्यसपछि फोन तथा सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएन। सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरी उनीहरूको घर पुगेको थियो। त्यसक्रममा नरेशले आफूहरू अलग हुन लागेको र ममता न्युयोर्क वा टेक्ससमा आफन्तलाई भेट्न गएको हुन सक्ने बताएका थिए। तर, प्रहरीले पछि अमेरिकामा ममताका परिवारका सदस्य नरहेको पत्ता लगायो।
त्यसको करिब तीन सातापछि प्रहरीले घरमा खानतलासी गरी नरेशलाई पक्राउ गरेको थियो। अभियोजन पक्षका अनुसार उनले जुलाई ३० तिर ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर फोहोरका झोलामा राखी फ्याँकेका थिए। ममताको शव अहिलेसम्म फेला परेको छैन। नरेशविरुद्ध प्रथम श्रेणीको हत्या, शवको अपमान र मृत शरीर लुकाएको अभियोगमा मुद्दा चलिरहेको छ।


