धनगढी । कैलालीको भजनीमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिन खोज्दा ड्युटीमा खटिएका नेपाल प्रहरीमाथि आक्रमण भएको छ। आक्रमणपछि तस्करीमा संलग्न समूहले सामान भित्र्याउन सफल भएको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई प्रहरीमाथि आक्रमण भएको हो।
आक्रमणमा प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार हवल्दार चौधरीको हातमा तथा जवान जोशीको अनुहारमा चोट लागेको छ। दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद रहेका छन्। प्रहरीका अनुसार लोकबहादुरलाई घटनाको मुख्य अभियुक्तका रूपमा लिइएको छ।
घटनामा तस्करीका लागि प्रयोग गरिएका से ४ प ११७१ र सुदूरपश्चिम प्रदेश ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको थियो। प्रहरीसँग झडप भएको मौका छोपेर तस्करीमा संलग्न व्यक्तिहरूले सामान भने भित्र्याउन सफल भएका थिए।
घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी भइरहेको र पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइएको डीएसपी तिमिल्सिनाले बताए।
प्रहरीमाथि नै आक्रमण गरी अवैध सामान भित्र्याइएको घटनाले सीमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रणमा थप चुनौती देखिएको छ।


