धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ र बूढीगङ्गा नगरपालिका–४ को बिचमा पर्ने बार्जुगाड खोलामा पक्की पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । पुलको दुवैतर्फ सडक नजोडिँदा निर्माण सम्पन्न भइसकेको पुल प्रयोगविहीन बनेको हो ।
बूढीगङ्गा–७ को बेतालमाण्डौ, झाली, पुडाबाउला, बाँनेगाउँ हुँदै खप्तड छेडेदह–३ आटिचौर जोड्ने सडकलाई लक्षित गरी निर्माण गरिएको ४५ मिटर लामो पुल सञ्चालनमा नआउँदा स्थानीयवासीलाई अहिले पनि बार्जुगाड खोला तर्न समस्या हुने गरेको छ । केही वर्षअघि खोला तर्ने क्रममा एक महिलाको ज्यानसमेत गएको स्थानीय बताउँछन् ।
खप्तड छेडेदह–३ पुडाबाउलाका बालबालिका खोला तरेर बूढीगङ्गा–५ स्थित भानोदय माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् । बाँनेगाउँका स्थानीयसमेत दैनिक आवतजावतका लागि यही खोला पार गर्नुपर्ने बाध्यता रहेको छ ।
पुल बने पनि दुवैतर्फको सडक निर्माण नहुँदा सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ । पुल निर्माणको जिम्मा अछामको साउँद एड्भेन्चर जेभीले पाएको थियो । दुई करोड रुपियाँको लागतमा निर्माण भएको पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
साउँद एड्भेन्चर जेभीले पुल निर्माणको आफ्नोतर्फको काम पूरा भइसकेको जनाएको छ । तर, पुलको दुवैतर्फ सडक जोड्ने काम भने अझै बाँकी रहेको पूर्वाधार विकास कार्यालय, साँफेबगर अछामका कार्यालय प्रमुख जङ्गबहादुर थापाले बताए ।

