धनगढी । कैलालीको वसन्ता वनसहित संरक्षण क्षेत्रबाहिरका अन्य वनमा आगन्तुक पाटेबाघ स्थायी रूपमा बसोबास गर्न सक्ने सम्भावना बढिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी० ले जनाएको छ । भारतको विभिन्न संरक्षित क्षेत्रबाट डमरु हुर्काउन आउने वा कमजोर बाघ यहाँका वनमा स्थायी रूपमा बसोबास गर्न सक्ने सम्भावना बढ्दै गएको हो । देहरादुन–राजाजी–जिम कर्बेट–रामनगर–पिलिभित दुधुवा कम्प्लेक्समा ७५७ वटा बाघ छन् । तीमध्ये कमजोर वा डमरु भएका बाघ हरेक वर्ष वसन्ता, मोहना–लालझाडी कोरिडोरतर्फ आएर फर्कने गरेकाले अब त्यस्ता बाघ यतै स्थायी रूपमा पनि बस्न सक्ने सम्भावना रहेको एनटिएनसी शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो ।
उहाँका अनुसार यस्ता बाघ अब जताततैबाट यहाँका वनमा आउने कार्य भइरहेको छ । जोशी भन्नुहुन्छ, “कुनै पनि बेला अब बाघले ओहोरदोहोर गरिरहेका छन् । सुरक्षित ठाउँबाट निस्केर जताततैबाट यहाँ आइरहेका बाघ स्थायी रूपमा पनि बस्न सक्ने सम्भावना छ ।”
पिलिभिततिरको १० प्रतिशत बाघ त झन् वन छोडेर उखु बारीमै बस्ने गरेको जनाइएको छ । त्यस्ता उखुबारीका बाघ पनि कैलाली, कञ्चनपुर पुगिरहेका छन् । उखुबारीकै बाघले कञ्चनपुरमा दुई महिलाको ज्यान लिइसकेको जोशीले जनाउनुभयो । “उखुबारीमा अरू जनावर पनि हुने भएकाले बाघलाई सजिलै आहारा प्राप्त हुने गर्दछ,” उहाँले भन्नुभयो, “मान्छे घाँस काट्नदेखि अन्य कामका लागि उखुबारीतिर जाँदा यस्ता बाघले मान्छेलाई पनि मारिरहेका छन् ।” सुरक्षित क्षेत्रबाट निस्केका वन्यजन्तुको आहारविहारका लागि संरक्षण क्षेत्र वरिपरि बफर जोन बनाइने गरिएको छ तर बफर जोन हुनुपर्ने ठाउँमा अचेल खेती र मानवबस्ती रहेकाले संरक्षित क्षेत्रबाट निस्केका वन्यजन्तु सिधैँ बस्तीमा पुगिरहेको जनाइएको छ ।

