धनगढी । कैलालीका एक कृषकले बाँसबाट विभिन्न घरायसी सामग्री बनाएर दैनिक आम्दानी गर्दै आएका छन् । कैलारी गाउँपालिका –१ बिसनपुरका ६१ वर्षीय चुल्हुवा चौधरी बाँसबाट छिटुवा डालो र डिलिया माछा राख्ने भाँडो बनाएर आम्दानी गरिरहनु भएको हो । घर वरिपरि बाँस लगाउनु भएका उहाँले बाबु–बाजेले सिकाएको परम्परागत सिप उपयोग गरेर बाँसको सामग्री बनाएर बिक्री वितरण गर्दै आएका छन् ।
चौधरी भन्नुहुन्छ, “बाँस आफ्नै घरमा छ । बसिबियालो गर्दै बाँसबाट अलि–अलि कमाइ गरिरहेको छु ।” बाँसको चोयाबाट छिटुवा, डिलिया बनाउन पोख्त चौधरी एक महिनामा १० वटा छिटुवा र २० वटासम्म डिलिया तयार पार्ने गर्नुभएको छ ।
आफूले बनाएको बाँसका ती सामग्रीलाई उहाँले आफ्नै गाउँदेखि लिएर आसपास रहेका मनाउँ, मझरा, हसुलिया, पवेरा, मनिकापुरदेखि भर्री लगायतका गाउँसम्म डुलेर उहाँले आफ्नो सामग्री बिक्री गर्दै आएका छन् । “आज विहानमात्र दुई हजार रुपियाँको सामग्री बिक्री गरिसकेको छु” उहाँले भन्नुभयो ।
चौधरीले प्रतिछिटुवा पाँचसय र डिलिया दुईसय रुपियाँको दरले बिक्री गर्दै आउनुभएको छ । माछाका पारखी थारू समुदायका मानिसले डिलियामा माछा राख्ने गर्दछन् । यसैगरी, तरकारीदेखि लिएर घाँस, दाउरा छिटुवामा राखेर बोक्ने गर्दछन् । यी सामग्री गत विगतदेखि नै थारु समुदायमा उपयोग हुँदैआएको छ ।
समुदायको मागअनुसार आफूले छिटुवा, डिलिया बिक्री गरी कमाएपछि घर गुजारा गर्न निकै सहज भएको चौधरीको भनाइ छ ।

