धनगढी । बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ । स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक रायले जानकारी दिए।
‘सुदुरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल बिरामी परेका छन् । उनलाई आज बिहानदेखि ज्वरोले सताएको हो ।
बैतडीको गोठालापनीमा पुगेका बेला मन्त्री लम्साल अचानक अस्वस्थ बनेका हुन् । बिहानबाट हनहनी ज्वरो आएपछि जिल्ला अस्पतालका चिकित्सकलाई बोलाइएको थियो । चिकित्सकले भाइरल ज्वरो भनेका छन् । मन्त्री लम्सालसँगै रहेका उनको सचिवालयका एक सदस्यले आजै काठमाडौं ल्याउने तयारी भइरहेको बताए ।
सुदूरपश्चिम भ्रमणका क्रममा मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रुतमार्गको अवलोकन गरेका थिए । त्यसपछि दार्चुला पुगेर महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको निरीक्षण गरेका थिए ।
दार्चुलाबाट शनिबार अबेर साँझ आफैँ गाडी चलाएर बैतडी पुगेका मन्त्री लम्साललाई त्यहाँ पुगेपछि स्वास्थ्यमा समस्या देखिएको हो ।

