धनगढी । डोटीको जोरायल गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको छहरा झरना संरक्षण र व्यवस्थापनको अभावमा परेको भन्दै स्थानीय युवाहरूले संरक्षण अभियान सुरु गरेका छन्। स्थानीय सरकारबाट अपेक्षित चासो नदेखिएपछि समाजसेवी तथा युवा नेता किरण मल्लले व्यक्तिगत लगानीमा स्थानीय युवासँग मिलेर झरना क्षेत्रको व्यवस्थापनमा जुटेका हुन्।
पर्यटक तथा दर्शनार्थीको संख्या बढ्दै गए पनि सुरक्षित पदमार्ग, सरसफाइ, फोहोर व्यवस्थापन र अन्य आवश्यक पूर्वाधारको अभाव रहेको स्थानीयको भनाइ छ। उनीहरूले झरनालाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सम्बन्धित निकायसँग आवश्यक पूर्वाधार निर्माणको माग गरेका छन्।
यसअघि पनि किरण मल्लले आफ्नै खर्चमा करिब ४० हजार रुपैयाँ बराबरको लागतमा झरना परिसरमा अस्थायी शौचालय र चेन्जिङ रुम निर्माण गराएका थिए। स्थानीयवासीका अनुसार छहरा झरनाको उचित संरक्षण र विकास गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।


