धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले नै अगामी आर्थिक वर्षको बजेटमा कटौतीको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री कमलबहादुर शाह अप्ठ्यारोमा परेका छन् ।
शुक्रबार र शनिबार गरी एमालेका ६ जना सांसदले प्रदेश सभामा विषयगत मन्त्रालयअनुसार खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।
संसदीय परम्परामा प्रतिपक्षी दलले दर्ता गराउने खर्च कटौतीको प्रस्ताव संसद्मा लैजाने अभ्यास छ तर सुदूरपश्चिममा सत्तारुढ दलले नै उक्त प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।
प्रमुख विपक्षी नेकपाबाट समेत खर्च कटौतीको प्रस्ताव दर्ता भएपछि शाहले आन्तरिक छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । धनगढीस्थित मुख्यमन्त्री शाहको सरकारी निवासमा दलको बैठक बसिरहेको छ ।
बैठकले पछिल्लो समय विकसित घटनाक्रमबारे निर्णय लिने स्रोतले जनाएको छ । खर्च कटौतीको प्रस्ताव दर्ता भएपछि एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलसँग परामर्श गरेका शाहले प्रस्ताव लिन आग्रह गरेका थिए । प्रस्ताव फिर्ता नलिएमा सरकारबाट बाहिरिन भनेको स्रोत बताउँछ ।
तर शाहले पार्टी केन्द्रको निर्देशनका आधारमा कदम चाल्ने बताएका थिए । अगामी वर्ष २०८३र८४ को बजेटमा कांग्रेसकै सांसदहरुको चर्को असन्तुष्टि छ । एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, उपनेता सन्तोश शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सचेतक जानकी ऐर बम, सामाजिक विकास समिति सभापति धर्मराज पाठक र सांसद दमन भण्डारीले विषयगत मन्त्रालयअनुसार खर्च कटौती प्रस्ताव हालेका छन् ।
नेकपा संसदीय दलका नेता खगराज भट्ट र सांसद मानबहादुर धामीले पनि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् । एमालेले भने यथास्थितीमा बजेट पारित हुन नसक्ने भन्दै खर्च कटौतीको प्रस्तावबाट ब्याक नहुने दाबी गर्दै आएको छ ।

