कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको बैठक बस्नुअघि दुई मन्त्रीसहित पाँच जना सांसदले छुट्टै छलफल गरेका छन् । आज दिउँसो २ बजे मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा संसदीय दलको बैठक बोलाइएको छ । सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमाथि भोलि प्रदेश सभामा छलफल सुरू गर्ने तयारी भइरहेका बेला बैठक आह्वान गरिएको हो।
बैठकअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा करिब डेढ घण्टा दुई मन्त्री र तीन सांसदबीच बजेटलगायत समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ। छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावल, सामाजिक विकास मन्त्री बेलबहादुर राना, विधायन तथा प्रदेश मामिला समितिका सभापति देवानसिंह बिष्ट, विशेषाधिकार समितिका सभापति तुलसी देवकोटा तथा सांसद ललिता सुनार सहभागी थिए।
सुदूरपश्चिममा नेपाली काङ्ग्रेस नेतृत्वको सरकार रहे पनि बजेट वितरणलाई लिएर पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको छ। यसअघि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियानमा सहभागी आठ जना सांसदमध्ये आजको छलफलमा पाँच जना मात्र उपस्थित भएका थिए। उक्त समूहका पदम शाही, गीता चौधरी र जुना दानी भने छलफलमा सहभागी भएनन्।
संसदीय दलको बैठकमा बजेट, पार्टीभित्र देखिएको असन्तुष्टि तथा आगामी रणनीतिबारे छलफल भएको स्रोतको दाबी छ ।

