धनगढी । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३।२ मेट्रिकटनको दरले चैते धान उत्पादन भएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रमा बढीजसो चैते धान खेती गर्ने गरिएको छ । खास गरेर बर्खामा बाढी, डुबान समस्या हुने क्षेत्रका किसानले चैते धान खेती गर्दै आएका छन् । यसवर्ष १८ हजार हेक्टर क्षेत्रफलमा किसानले चैते धान खेती गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेक विष्टले जानकारी दिनुभयो ।
चैते धान खेती गरेका किसानले बर्खे धान रोपाइँसँगै चैते ध्यान पनि भित्र्याइ सकेका छन् । कतिपय किसानले चैते धान भित्र्याएर सोही खेतमा बर्खे धान पनि रोपाइँ गरेको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीले बताउनुभयो ।
यसैबिच, कैलालीमा यस वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको छ । जेठ अन्तिम साताबाट बोरिङ, स्यालोट्युवेलको भरमा रोपाइँ थालेका किसानले मनसुन पुगेपछि रोपाइँ सकाउन थालेका हुन । जिल्लामा रोपाइँ अब सम्पन्न हुने क्रममा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सूचना अधिकारी विष्टले यस वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “९५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । अब यही साताभित्र सबै सकिन्छ”, उहाँले भन्नुभयो ।
कैलालीमा ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ ।

