धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेटमाथि प्रदेश सभामा छलफल सुरु भएको छ । आज बसेको सभाको बैठकमा प्रदेश सरकारको बजेटमाथि सामान्य छलफल सुरु भएको हो । छलफलमा भाग लिदैं सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यले बजेटको आलोचना गर्नुभयो । सरकारले बजेट सच्याउनु पर्ने उहाँहरुको सुझाव थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलको नेता खगराज भट्टले सरकारले ल्याएको बजेट मध्यरातमा अँध्यारो कोठामा बसेर सेटिङ गरिएका बेथितिपूर्ण योजनाहरुको विकृत पुलिन्दा रहेको जिकिर गर्नुभयो ।
सत्ता साझेदार दल नेकपा ९एमाले० का प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेटमा झोले, झिम्टे, चिम्टे र बिचौलिया विधाको प्रभाव रहेको बताउनुभयो ।
त्यस्तै, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् निवर्तमान आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले सरकारले प्रस्तुत गरेको बजेटप्रति समर्थन जनाउँदै बजेटमा केही त्रुटिहरु भएको बताउनुभयो ।
छलफलको क्रममा उठेको विषयमा जवाफ दिदै आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले अर्थमन्त्रीको हैसियतले बजेटको जिम्मा आफूले लिने भन्दै यसलाई अझ राम्रो बनाउन सबैसँग छलफल गर्न सकिने बताए ।

