धनगढी । मदिरा व्यवसायी संघ कैलालीको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। आगामी भदौ १४ गते आइतबार धनगढीस्थित ॐ प्यालेसमा हुने अधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार तथा संघका पूर्वमहासचिव कमल बम नेतृत्वको प्यानलले ११ बुँदे कार्ययोजनासहित आफ्नो उम्मेदवारी घोषणा गरेको छ।
अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले संघमा चुनावी गतिविधि तीव्र बनेका छन्। अन्तिम मतदाता नामावलीअनुसार संघमा १५० जना मतदाता छन्। अध्यक्ष पदमा कमल बमसँगै सागर समशेर राणा चुनावी प्रतिस्पर्धामा छन्। ‘व्यवसायीको समस्या बुझ्ने मात्र होइन, समाधानका लागि अगाडि बढ्ने नेतृत्व’ र ‘प्रतिबद्धता होइन, परिणाम देखाउने नेतृत्व’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको बम प्यानलले व्यवसायीको हित, संस्थागत सुधार, प्रविधिको प्रयोग र आर्थिक पारदर्शितालाई मुख्य प्राथमिकता दिएको जनाएको छ।
यस्तो छ बम प्यानल
बम नेतृत्वको प्यानलबाट अध्यक्षमा कमल बम उम्मेदवार छन्। उनी यसअघि संघको महासचिवको जिम्मेवारीमा थिए। उपाध्यक्षमा विनोद बलायर, रविन्द्र थापा र दीपेन्द्रबहादुर सिंह, महासचिवमा मधनराज उपाध्याय, सचिवमा पूर्णबहादुर बोहरा, कोषाध्यक्षमा राकेश चौधरी तथा सहकोषाध्यक्षमा साजन कुँवर उम्मेदवार छन्। त्यस्तै सदस्यतर्फ गणेश बोहरा, दीपक धामी, चन्द्राकुमारी बोगटी, रामकृष्ण चौधरी र पुरन राना उम्मेदवार रहेका छन्।
प्यानलले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा कमल बमको क्रमसंख्या १ रहेको छ। उपाध्यक्षमा विनोद बलायर १, रविन्द्र थापा २ र दीपेन्द्रबहादुर सिंह ३ नम्बरमा छन्। महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षका उम्मेदवारको क्रमसंख्या १ रहेको छ। सदस्यतर्फ गणेश बोहरा १, दीपक धामी २, चन्द्राकुमारी बोगटी ३, रामकृष्ण चौधरी ४ र पुरन राना ५ नम्बरमा रहेका छन्।
मूल्यमा एकरूपता र डिजिटल प्रणाली
बम प्यानलले मदिरा व्यवसायमा देखिएको मूल्य असमानता र अस्वस्थ प्रतिस्पर्धालाई प्रमुख समस्याका रूपमा औँल्याएको छ। उत्पादकले निर्धारण गरेको मूल्यसूचीअनुसार बिक्री गर्ने वातावरण बनाउन उत्पादक, वितरक र व्यवसायीबीच समन्वय गर्ने योजना प्यानलको छ। यसका लागि डिजिटल मूल्यसूची सञ्चालन गर्ने र वेबसाइटमार्फत मूल्य प्रविष्टि तथा अद्यावधिक गर्ने व्यवस्था भदौ महिनाभित्रै कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै प्रत्येक सदस्यलाई क्युआरसहितको डिजिटल परिचयपत्र उपलब्ध गराउने, सदस्यता नवीकरण, सदस्य विवरण तथा संघबाट प्राप्त हुने सुविधाको डिजिटल अभिलेख राख्ने योजना अघि सारिएको छ।
सदस्य र परिवारलाई सुविधा कार्ड
व्यवसायीसँगै उनीहरूका परिवारलाई समेत लाभ पुग्ने गरी ‘सदस्य सुविधा कार्ड’ सञ्चालन गर्ने प्यानलले जनाएको छ। अस्पताल, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, डेन्टल, ल्याब, आँखा अस्पताल, जिम, होटल, रेस्टुरेन्ट तथा सवारी सर्भिसिङलगायत सेवा प्रदायकसँग सहकार्य गरी सदस्य तथा परिवारलाई छुट र सहुलियत उपलब्ध गराउने योजना छ।
यसअघि सुरु गरिएको सदस्य दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने तथा सम्भव भएसम्म परिवारसम्म विस्तार गर्न पहल गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।
कर तथा कानुनी सहायता डेस्क
व्यवसायीले नियमित रूपमा सामना गर्नुपर्ने कर, भ्याट, बिलिङ, लेखा, व्यवसाय नवीकरण तथा अन्य कानुनी विषयमा परामर्श उपलब्ध गराउन ‘कर तथा कानुनी परामर्श सहायता डेस्क’ स्थापना गर्ने योजना अघि सारिएको छ। त्यस्तै कर, अन्तःशुल्क, बिलिङ वा मदिरा व्यवसायसँग सम्बन्धित नयाँ नीति तथा नियमबारे व्यवसायीलाई समयमै जानकारी गराउन ह्वाट्सएप तथा एसएमएसमा आधारित सूचना प्रणाली सञ्चालन गर्ने योजना पनि प्यानलको छ।
बैंक तथा बीमा संस्थासँग सहकार्य
व्यवसायीको पूँजी व्यवस्थापनदेखि जोखिम सुरक्षासम्म सहयोग पुर्याउने उद्देश्यले बैंक तथा बीमा संस्थासँग संस्थागत सहकार्य गर्ने प्यानलले जनाएको छ। सदस्य व्यवसायीलाई सहुलियतपूर्ण व्यावसायिक कर्जामा पहुँच पुर्याउने, व्यवसाय सञ्चालन तथा स्टक खरिदका लागि आवश्यक वित्तीय सेवामा सहजीकरण गर्ने तथा डिजिटल बैंकिङ, क्युआर र पीओएस सेवामा विशेष सुविधा दिलाउन पहल गर्ने योजना छ। त्यस्तै व्यवसाय, पसल तथा स्टकको बीमामा सहुलियत, सदस्य तथा परिवारका लागि दुर्घटना र स्वास्थ्य बीमा योजनामा सहकार्य गर्ने तथा बैंकिङ र बीमासम्बन्धी जानकारी र परामर्शमा सहजीकरण गर्ने प्यानलले जनाएको छ।
प्रत्येक सदस्यलाई निःशुल्क वेबसाइट
व्यवसायलाई डिजिटल बजारसँग जोड्ने योजनाअन्तर्गत संघमा आबद्ध प्रत्येक सदस्य व्यवसायीलाई निःशुल्क वेबसाइट उपलब्ध गराउने प्रतिबद्धता पनि प्यानलले जनाएको छ। वेबसाइटमा व्यवसायको परिचय, उपलब्ध वस्तु तथा सेवा र सम्पर्क विवरण राख्ने व्यवस्था गरी व्यवसायको डिजिटल उपस्थिति तथा प्रचारप्रसार विस्तार गर्ने लक्ष्य राखिएको छ। डिजिटल मूल्यसूचीलाई समेत वेबसाइट प्रणालीसँग जोड्ने योजना छ।
व्यवसायीका छोराछोरीलाई शिक्षा र प्रतिभा प्रोत्साहन
प्यानलले व्यवसायी परिवारका लागि शिक्षा तथा प्रतिभा प्रोत्साहन कार्यक्रमसमेत अघि सारेको छ। सदस्यका छोराछोरीलाई शैक्षिक संस्थामा छुट उपलब्ध गराउन सहकार्य गर्ने, उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने तथा आवश्यकताअनुसार छात्रवृत्ति र प्रतिभा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ। व्यवसायीको क्षमता विकासका लागि कर, बिलिङ, स्टक व्यवस्थापन, डिजिटल प्रविधि, ग्राहक व्यवस्थापन तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमित तालिम र अन्तरक्रिया सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ।
‘व्यवसायी संवाद’देखि उत्कृष्ट व्यवसायी सम्मानसम्म
सदस्यसँग संघको प्रत्यक्ष सम्पर्क बढाउन नियमित ‘व्यवसायी संवाद’ कार्यक्रम सञ्चालन गर्ने योजना प्यानलको छ। संवादमार्फत व्यवसायीका समस्या, सुझाव र गुनासा सुन्ने तथा समाधानका लागि संघले गरेका पहल र प्रगति सदस्यसमक्ष सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको छ। लामो समयदेखि व्यवसाय गर्दै आएका, उत्कृष्ट व्यवसाय वा व्यवस्थापन गरेका तथा संघको संस्थागत विकासमा योगदान पुर्याएका सदस्यलाई ‘उत्कृष्ट व्यवसायी सम्मान’ प्रदान गर्ने योजना पनि प्यानलले अघि सारेको छ।
आर्थिक पारदर्शिता र जवाफदेहितामा जोड
संघका आर्थिक तथा संस्थागत गतिविधिको व्यवस्थित अभिलेख राख्ने, आवश्यक विवरण सदस्यसमक्ष पारदर्शी रूपमा प्रस्तुत गर्ने र निर्णय प्रक्रियामा जवाफदेहिता बढाउने विषयलाई बम प्यानलले ११ बुँदे कार्ययोजनाको महत्वपूर्ण प्राथमिकताका रूपमा राखेको छ। प्यानलले संघलाई सीमित व्यक्ति वा समूहको नभई सबै सदस्य व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।
अधिवेशन नजिकिँदै गर्दा दुई अध्यक्षका उम्मेदवारले आ–आफ्ना प्यानल र एजेण्डा सार्वजनिक गरेपछि मदिरा व्यवसायी संघ कैलालीको नेतृत्व चयनलाई लिएर व्यवसायीबीच चुनावी चासोसमेत बढेको छ।

