धनगढी। सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिन र मन्त्रालयहरूको टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल गठन गरिएको छ।
नेपाली कम्युनिस्ट पार्ट(नेकपा) का प्रमुख सचेतक खुसीराम डगौरा थारुका अनुसार प्रदेश इन्चार्ज, प्रदेश संयोजक र मुख्यमन्त्री सम्मिलित कार्यदलले मन्त्रालय बाँडफाँट र जिम्मेवारीको अन्तिम टुङ्गो लगाउनेछ।
सचेतक थारुले दिएको जानकारी अनुसार, कार्यदलले सबै विषयमा सूक्ष्म अध्ययन गरेर मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट गर्नेछ। प्रदेशस्तरमा कुरा मिलेमा कार्यदलले नै टुङ्गो लगाउने र नमिलेको खण्डमा निर्णयका लागि केन्द्र हेडक्वाटर मा सिफारिस गरिने उनले बताए।
‘मिलेको कुरा यहीँ मिल्छ, नमिलेको हकमा हेडक्वाटरबाट टुङ्गिएर आउँछ,’थारुले भने। थारुलाई भौतिक पूर्वाधार मन्त्री बनाउन साविक नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ६ जना सांसदहरूले हस्ताक्षर गरेर माग गरेको विषयमा उनले कूटनीतिक जवाफ दिएका छन्। उनले बैठक र छलफलका क्रममा विभिन्न धारणा आउनु र कसैले कसैलाई समर्थन गर्नु लोकतान्त्रिक प्रक्रिया भएको बताए।
‘छलफलका क्रममा सबैले आफ्ना विचार राख्छन्। कसैको धारणा कोहीसँग मिल्छ, कसैले समर्थन गर्छन्। यो बैठकमा हुने सामान्य प्रक्रिया हो,’ उनले भने।
आफूले मन्त्रीको जिम्मेवारी पाएमा क्याबिनेटको राय–सल्लाह र मन्त्रालयको क्षेत्राधिकार भित्र रहेर काम गर्ने थारुले प्रतिबद्धता जनाए। उनले पाँच वर्षको कार्यकालमा पटक–पटक भएको फेरबदलप्रति सङ्केत गर्दै अबको बाँकी समय स्थिर सरकार हुनुपर्नेमा जोड दिए।
‘स्थिरताले नै विकासको सुनिश्चितता गर्छ। हिजोको जस्तो फेरबदल हुने अवस्था नआओस् भन्ने मेरो चाहना हो,’उनले भने । सुदूरपश्चिममा हाल मुख्यमन्त्रीलाई आफ्नै दलभित्रका आकांक्षीहरूलाई व्यवस्थापन गर्न केही चुनौती देखिए पनि कार्यदलले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने विश्वास गरिएको छ।
मुख्यमन्त्रीले दुई–तीन दिनभित्रै मन्त्रालयको टुङ्गो लाग्ने बताउँदै आएका छन्।

