धनगढी । मदिरा व्यवसायी संघ कैलालीको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन नजिकिएसँगै नयाँ नेतृत्वका लागि चुनावी गतिविधि तीव्र बनेको छ। आगामी भदौ १४ गते धनगढीस्थित ओम प्यालेसमा हुने अधिवेशनका लागि सागर समशेर राणा समूहले आफ्नो प्यानल घोषणा गर्दै चुनावी एजेण्डा सार्वजनिक गरेको छ।
राणा समूहले संघको नेतृत्वलाई व्यवसायीमैत्री, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएको छ। प्यानलले ‘हामी पदका लागि होइन, जिम्मेवारीका लागि अघि बढेका हौँ, हामी भाषणका लागि होइन, परिणामका लागि आएका हौँ’ भन्ने प्रतिबद्धतासहित व्यवसायीको हकहितलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। राणा प्यानलको पहिलो एजेण्डा संघको विधान र विधिको पूर्ण पालना रहेको छ। संघको विधान, नियम तथा स्थापित प्रक्रियालाई आधार बनाएर काम गर्ने, व्यक्तिगत स्वार्थभन्दा संस्था र व्यवसायीको हितलाई प्राथमिकता दिने तथा हरेक निर्णयलाई संस्थागत, पारदर्शी र जवाफदेही बनाउने उसको प्रतिबद्धता छ।
त्यस्तै संघको हिसाब–किताबमा पूर्ण पारदर्शिता कायम गर्ने एजेण्डा अघि सारिएको छ। संघको आर्थिक कारोबारलाई स्पष्ट र व्यवस्थित बनाउने, आय–व्ययको नियमित विवरण व्यवसायीसमक्ष प्रस्तुत गर्ने तथा संघको रकम र स्रोत व्यवसायीको हितमा प्रयोग हुने सुनिश्चित गर्ने प्यानलले जनाएको छ।
व्यवसायीका समस्या समाधानका लागि वर्षभरि नै व्यवसायी केन्द्रित कार्यक्रम सञ्चालन गर्ने राणा समूहको योजना छ। वार्षिक साधारणसभामा मात्र सीमित नभई व्यवसायीका समस्या सुन्ने, सम्बन्धित निकायसँग छलफल गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने तथा व्यवसायीका साझा समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता प्यानलले गरेको छ। राणा प्यानलले नेतृत्व र व्यवसायीबीचको दूरी अन्त्य गर्ने विषयलाई समेत प्रमुख एजेण्डा बनाएको छ। ‘व्यवसायी एकातिर, नेतृत्व अर्कोतिर’ भन्ने अवस्था अन्त्य गर्दै व्यवसायीसँग प्रत्यक्ष सम्पर्क, छलफल र सहकार्यलाई प्राथमिकता दिने उसको भनाइ छ। ‘तपाईंको समस्या–हाम्रो जिम्मेवारी’ भन्ने भावनाका साथ संघ सञ्चालन गर्ने प्यानलले जनाएको छ।

व्यवसायीमाथि पर्ने अनावश्यक दबाब, समस्या तथा असहज परिस्थितिविरुद्ध संस्थागत रूपमा दृढताका साथ आवाज उठाउने राणा प्यानलको प्रतिबद्धता छ। त्यसका लागि सरकारी निकाय, कम्पनी, सप्लायर तथा अन्य सरोकारवालासँग व्यवसायीको हितमा प्रभावकारी वार्ता र समन्वय गर्ने तथा समस्या उठाएर मात्र नछाडेर समाधान नभएसम्म निरन्तर पहल गर्ने जनाएको छ।
त्यस्तै महत्वपूर्ण विषयमा व्यवसायीको सुझाव र सहभागितालाई प्राथमिकता दिँदै संघका गतिविधि तथा निर्णयमा व्यवसायीलाई जोड्ने एजेण्डा अघि सारिएको छ। संघलाई केही व्यक्ति वा समूहको नभई सम्पूर्ण व्यवसायीको साझा संस्था बनाउने राणा समूहको दाबी छ। प्यानलले आफ्नो कामको मूल्याङ्कन परिणामबाट हुने भन्दै ठूला–ठूला आश्वासन बाँड्न नभई स्पष्ट योजना, निरन्तर पहल र देखिने परिणामका लागि आफूहरू अघि बढेको जनाएको छ।
राणा प्यानलले आफ्नो संकल्पका रूपमा विधानमा रहेर काम गर्ने, हिसाबमा पारदर्शिता कायम गर्ने, व्यवसायीका समस्या सुन्ने, समस्यासँगै उभिने र सम्बन्धित निकायसँग दृढतापूर्वक पहल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ।
मदिरा व्यवसायी संघ कैलालीको नेतृत्वका लागि यसअघि कमल बम नेतृत्वको प्यानलसमेत चुनावी मैदानमा उत्रिसकेको छ। दुई प्यानलले आ–आफ्ना एजेण्डासहित चुनावी अभियान अघि बढाएपछि भदौ १४ गते हुने अधिवेशनमा नेतृत्व चयनलाई लिएर व्यवसायीबीच चासो बढेको छ।

