धनगढी । सुदूरपश्चिम प्रदेशमा युवाका लागि उपलब्ध अवसरको प्रभावकारी उपयोग, उद्यमशीलता प्रवर्द्धन, रोजगारी तथा सीप विकासका कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा युवा विकास, उद्यमशीलता, रोजगारी, सीप विकास तथा युवाका साझा सवालमा केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदको अध्यक्षतामा भएको कार्यक्रममा युवाका क्षेत्रमा आगामी दिनमा संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए), राष्ट्रिय युवा परिषद्, उद्योग वाणिज्य संघ कैलाली, नेपाल युवा उद्यमी मञ्च कैलाली, नेपाल पत्रकार महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ, पिसविन तथा विभिन्न राजनीतिक दलका युवा संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।
छलफलमा सहभागी गाउँपालिका राष्ट्रिय महासंघका प्रदेश समन्वय अधिकृत नवराज उपाध्यायले युवालाई लक्षित गरेर सञ्चालन गरिने तालिम तथा कार्यक्रम स्थानीय तहसँगको समन्वयमा प्रभावकारी बनाउनुपर्ने बताए । उनले स्थानीय तहमा युवा परिषद् गठन तथा युवासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा संस्थागत समन्वय आवश्यक रहेको धारणा राखे । युवालाई लागुऔषधविरुद्ध सचेतना, क्षमता अभिवृद्धि तथा सीप विकासका कार्यक्रमसँग जोड्नुपर्नेमा समेत उनले जोड दिए । स्थानीय तहसँग सहकार्य गरेर सञ्चालन गरिने कार्यक्रमले युवालाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ थियो ।

नेपाल युवा उद्यमी मञ्च कैलालीका उपाध्यक्ष आशिष शाहले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न उद्यम र करसम्बन्धी ज्ञान आवश्यक रहेको बताए । नयाँ उद्यमी बन्न चाहने युवाका लागि आवश्यक तालिम तथा मार्गदर्शनको अभाव रहेको उल्लेख गर्दै उनले व्यावहारिक र प्रभावकारी तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए । नेपाल युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष आयुस हमालले तालिम सञ्चालन गर्दा प्रशिक्षकको छनोट, तालिमको प्रभावकारिता तथा तालिमपछि युवाले प्राप्त गर्ने अवसरलाई समेत ध्यान दिनुपर्ने बताए । व्यवसाय गरिरहेका युवालाई समेत प्रोत्साहन र संरक्षण गर्नुपर्ने भन्दै उनले उद्यम गरिरहेका युवा पलायन हुन नदिन राज्यले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।
राष्ट्रिय युवा परिषद्का शाखा अधिकृत रमेश भट्टराईले प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरेर युवाका क्षेत्रमा काम गर्नुपर्ने बताए । बजेट सीमित भए पनि युवा लक्षित कार्यक्रमका आवश्यक शीर्षक नछुटाउनुपर्ने उनको भनाइ थियो । उनले उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउनुपर्ने बताए । कार्यक्रममा सञ्चारकर्मी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिले युवाका क्षेत्रमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । युवालाई रोजगारी, उद्यमशीलता र सीप विकाससँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न सरकारलाई दबाब दिनुपर्ने उनीहरूको भनाइ थियो ।
सरोकारवालाले युवा लक्षित कार्यक्रम सञ्चालन गर्दा दोहोरोपन हटाउन, उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न र परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । साथै सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र युवा संगठनबीच नियमित समन्वय र सहकार्यको आवश्यकता औँल्याइएको थियो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले छलफलमा प्राप्त सुझावलाई समेटेर आगामी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले युवाका साझा सवाललाई सम्बोधन गर्न सबै सरोकारवाला निकायसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताए । युवाको सीप, क्षमता र उद्यमशीलतालाई रोजगारी तथा आर्थिक अवसरसँग जोड्न सके मात्रै प्रदेशमा युवाको सम्भावनालाई उपयोग गर्न सकिने भएकाले आगामी दिनमा संयुक्त र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने निष्कर्षसहित बैठक सम्पन्न भएको छ ।

