धनगढी। सुदूरपश्चिम प्रदेशमा मनसुन सक्रिय भएसँगै प्रदेश सरकारले सम्भावित बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरणका लागि विपद् तयारीलाई तीव्र बनाएको छ। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार यस वर्ष मनसुनी विपद्का कारण ७ हजार ६ सय ३ घरधुरीका ३३ हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
भौगोलिक बनोटका कारण प्रदेशका जिल्लामा विपद्को स्वरूप फरक–फरक रहने देखिएको छ। कैलाली र कञ्चनपुरमा नदी कटान, बाढी तथा डुबानको जोखिम उच्च रहेको छ भने पहाडी जिल्लामा पहिरो मुख्य चुनौतीका रूपमा रहेको मन्त्रालयले जनाएको छ। जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी सोहीअनुसार पूर्वतयारी अघि बढाइएको बताइएको छ।
विपद् विज्ञ दामोदर अधिकारीले जनधनको क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, जोखिमयुक्त बस्तीको पहिचान गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, राहत व्यवस्थापनलाई चुस्त बनाउने तथा सुरक्षा निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। यस्तै, युएन सुदूरपश्चिमकी संयोजक बैजन्ती गिरिले स्थानीय तहले विपद् प्रतिकार्य योजनालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
प्रदेश सरकारले विगतका वर्षमा अव्यवस्थित सडक निर्माण र कमजोर भू–बनोटका कारण सामान्य वर्षामै पनि ठूला पहिरो जाने तथा बस्ती जोखिममा पर्ने घटनाबाट पाठ सिक्दै आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राखिएको जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक तालिम प्रदान गर्नुका साथै विपद् प्रतिकार्यसम्बन्धी अभ्याससमेत सम्पन्न गरिएको मन्त्रालयका सचिव तेजप्रकाश जोशीले जानकारी दिए।
पछिल्लो तथ्यांकअनुसार कञ्चनपुरमा सबैभन्दा बढी ७ हजार १ सय ३२ जना प्रभावित हुने अनुमान गरिएको छ। त्यसपछि कैलालीमा ६ हजार १ सय ९५, डोटीमा ४ हजार ८ सय २०, बाजुरामा ३ हजार ७ सय ७६, बैतडीमा ३ हजार ३ सय ६२, डडेल्धुरामा ३ हजार १ सय ८, बझाङमा १ हजार ७ सय ७४, अछाममा १ हजार ६ सय २ र दार्चुलामा १ हजार ४ सय ६७ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
प्रदेश सरकारले सम्बन्धित सबै निकायसँग समन्वय गर्दै मनसुनी विपद्बाट हुने सम्भावित जनधनको क्षति न्यूनतम बनाउन आवश्यक तयारीलाई प्रभावकारी रूपमा अघि बढाइएको जनाएको छ।

