धनगढी: युवा उद्यमशीलता, सूचना प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्को आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय युवा उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी मंगलबार धनगढीमा सम्पन्न भएको छ। प्रदेशभरका ४० वर्षमुनिका युवा उद्यमीले सञ्चालन गरेका उद्यम तथा स्टार्टअप व्यवसायहरूलाई एकै थलोमा प्रस्तुत गर्दै आयोजना गरिएको प्रदर्शनीमा सूचना प्रविधि, उत्पादनमूलक उद्योग, सेवा तथा नवप्रवर्तनमा आधारित व्यवसायहरूको सहभागिता रहेको थियो। प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्ने चार जना युवा उद्यमीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय युवा परिषद्का उपसचिव कर्णबहादुर कुँवरका अनुसार सहभागी स्टार्टअप व्यवसायहरूको विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कनका प्रमुख आधारमा व्यवसाय दर्ता र सञ्चालन अवधि, वस्तु तथा सेवाको उत्पादन, उद्योग वा व्यवसाय सञ्चालन भएको स्थान, भौतिक पूर्वाधार, कच्चा पदार्थको आपूर्ति, रोजगारी सिर्जना, लगानीको अवस्था, नवप्रवर्तनको प्रयोग, व्यवसायको बजारीकरण तथा विस्तार र प्रदर्शनीमा गरिएको प्रस्तुतिलाई समेटिएको थियो।
प्रदर्शनीमा सहभागी उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाको वर्तमान अवस्था, उत्पादन प्रक्रिया, बजार विस्तार, कच्चा पदार्थको उपलब्धता, प्रविधिको सिर्जनात्मक प्रयोग, व्यवसायबाट लाभान्वित समुदाय, रोजगारी सिर्जनामा पुगेको योगदान तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए। उनीहरूले आफ्नो उद्यम सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती र सम्भावनाबारे पनि जानकारी गराएका थिए। एकदिने प्रदर्शनीमा विद्यार्थी, युवा उद्यमी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनीमार्फत स्थानीय उत्पादन, प्रविधिमा आधारित व्यवसाय र युवा उद्यमशीलताको प्रवर्द्धनमा सकारात्मक सन्देश पुगेको आयोजकको विश्वास छ।

कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावलले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै मन्त्री रावलले प्रदेशमा उद्यमशीलता विकास, नवप्रवर्तन र सूचना प्रविधिमा आधारित व्यवसाय विस्तारका लागि सरकारले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले युवाहरूलाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्न आग्रह गर्दै यस्ता प्रदर्शनीले नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

