धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेका कारण कैलालीको धनगढी उपमहानगरपालिकाका केही वडा डुबानमा परेका छन्। लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ भने होचो भूभागमा पानी जम्न थालेपछि स्थानीयवासी सतर्क रहन थालेका छन्।
यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा मापन गरिएको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार दोधाराचाँदनीमा ११७।६ मिलिमिटर वर्षा भएको छ।
त्यसपछि कपिलवस्तुको वनगंगामा ११७।४ मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। कैलाली र कञ्चनपुरका अन्य विभिन्न स्थानमा पनि निरन्तर वर्षा भइरहेको छ।
दोधाराचाँदनी क्षेत्रमा अत्यधिक वर्षा भएकाले नदी तथा खोलामा पानीको सतह बढ्ने, बाढी र डुबानको जोखिम रहने भएकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। साथै, आवश्यक परे सुरक्षित स्थानमा जान र मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन पनि अनुरोध गरिएको छ।

