धनगढी — धनगढीस्थित नवजीवन अस्पताल स्वास्थ्य तथा व्यावसायिक सुरक्षा व्यवस्थापनमा उत्कृष्ट अभ्यास गरेको भन्दै सम्मानित भएको छ।
श्रम तथा व्यवसाय सुरक्षा विभागले सुदूरपश्चिम प्रदेशमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्य (Occupational Safety and Health) का क्षेत्रमा उत्कृष्ट व्यवस्थापन र प्रभावकारी अभ्यास गर्ने संस्थाका रूपमा नवजीवन अस्पताललाई सम्मान प्रदान गरेको हो।

बिहीबार युवा, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक समारोहमा युवा तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खडायतलाई सम्मानपत्र प्रदान गरे।
श्रमिकको सुरक्षा, सुरक्षित कार्य वातावरण, स्वास्थ्य मापदण्डको प्रभावकारी कार्यान्वयन तथा संस्थागत व्यवस्थापनमा उत्कृष्ट अभ्यास गरेको मूल्याङ्कनका आधारमा अस्पताललाई उक्त सम्मान प्रदान गरिएको विभागले जनाएको छ।
यस वर्ष देशभरबाट छनोट गरिएका उत्कृष्ट संस्थामध्ये नवजीवन अस्पताल पनि एक हो। नवजीवन अस्पतालसँगै होङ्शी सिमेन्ट, अम्बे स्टिल, एशियन पेन्ट्स, मारुती सिमेन्ट र मैनावती स्टिललाई पनि व्यावसायिक सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदानका लागि सम्मान गरिएको छ।

अस्पतालले प्राप्त गरेको यो सम्मानले सुदूरपश्चिममा सुरक्षित, गुणस्तरीय र जिम्मेवार स्वास्थ्य सेवा प्रवाहप्रति संस्थाको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास गरिएको छ।

