धनगढी: डोटीको जोरायल गाउँपालिका–१ गैरास्थित एक होटलमा बास बसेका एक युवक शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । मृतक कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोल निवासी ३५ वर्षीय सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार थापा शुक्रबार राति कञ्चनपुरबाट घुम्न आएका १३ सदस्यीय टोलीसँगै रेनुका होटलमा पुगेका थिए । उनी राति करिब साढे ९ बजे होटलमा पुगेपछि कोठा नम्बर २०४ मा चालक बसन्तबहादुर सिंहसँगै बसेका थिए । शनिबार बिहान उठाउने क्रममा थापा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त टोली सुदूरपश्चिम प्रदेश ०२००१ ख १३२८ नम्बरको गाडीमा यात्रा गर्दै डोटी पुगेको थियो । मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

