धनगढी: दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेकाे हो ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार सामग्रीसहित नेपाल प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो ।
हालसम्म नाम, थर र वतन नखुलेका एक पुरुषलाई भिरमा अड्किएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय दैलखका सूचना अधिकारी पुष्पराज राेकायले जानकारी दिए ।
उनका अनुसार उद्धार कार्यका लागि सामग्रीसहित ३५ जना प्रहरी परिचालन गरिएको छ । दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ । दुर्घटनाकाे कारण तथा अन्य मानवीय क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

