गौरीफंटाः सूचनाको आधारमा भारत–नेपाल सीमा क्षेत्रको गौरीफंटा नाकामा एसएसबी चेकपोस्टमा एक उद्धार कार्य गरिएको छ। बिहीवार उद्धार गरिएका व्यक्तिहरूमा १७ वर्षीय सुरेन्द्र पार्की र १२ वर्षीया किशोरी रहेका छन्। सुरेन्द्र पार्की, गोरा पार्कीका छोरा हुन्। उनको स्थायी ठेगाना सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको केआईसिंह(३ ढकारी गाउँ रहेको छ। त्यस्तै, १२ वर्षीया किशोरीको ठेगाना बाजुरा जिल्ला, त्रिवेणी नगरपालिका रहेको जनाइएको छ।
एएचटियु टोलीले दुवै जनालाई गौरीफंटा चेकपोस्टमा रोकेको हो। प्रारम्भिक जानकारी अनुसार उनीहरू भारतको दिल्लीबाट नेपालतर्फ फर्किँदै थिए। किशोरीको सम्पूर्ण परिवार दिल्लीमै बसोबास गर्दै आएको बताइएको छ। चेकजाँच तथा सोधपुछका क्रममा दुवै जनाले सन्तोषजनक र स्पष्ट जवाफ दिन नसकेपछि सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन्। हाल दुवै जनालाई गौरीफंटा चेकपोस्टमै राखी थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

