धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्ने कार्यसूची अन्तिम समयमा प्रभावित भएको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटमा भागबण्डा नमिल्दा सोमबार साँझ ५ बजेका लागि तय गरिएको प्रदेशसभा बैठक राति ९ बजेका लागि सारिएको हो ।
भिजियोल रोल
मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूबीच बजेट तथा योजनाको बाँडफाँटमा सहमति जुट्न नसक्दा बजेट निर्माण प्रक्रिया अन्तिम घडीसम्म प्रभावित बनेको छ । बजेटको मस्यौदा अझै अन्तिम रूप नपुगेकाले कर्मचारीहरू लेखन कार्यमै व्यस्त रहेका छन् भने मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेको छैन । बजेट प्रस्तुत हुनुअघि नै सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् । प्रतिपक्षी सांसदहरूले बजेट निर्माण प्रक्रियामै राजनीतिक भागबण्डा र स्वार्थ हाबी हुँदा प्रदेश सरकार अन्योलमा परेको आरोप लगाएका छन् ।
स्रोतका अनुसार एमालेका मन्त्रीहरू मात्र होइन, कांग्रेसका मन्त्रीहरूले समेत आफूले सिफारिस गरेका योजना बजेटमा नपरेको भन्दै असन्तुष्टि जनाएका छन् । सत्तारुढ दलकै सांसदहरूले दबाब बढाउन थालेपछि मुख्यमन्त्री शाह र आर्थिक मामिला मन्त्री विक्रमसिंह धामी असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रयासमा जुटेका छन् । सांसदहरूले पूर्वसहमतिअनुसार आफ्ना योजनाहरू बजेटमा समावेश गर्नुपर्ने अडान लिएपछि प्रदेशसभा बैठक राति ९ बजेका लागि सारिएको बताइएको छ ।
अन्य प्रदेशहरूले समयमै आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरिरहेका बेला सुदूरपश्चिममा भने सत्तारुढ गठबन्धनभित्रकै विवादका कारण बजेट प्रस्तुति प्रभावित बनेको छ । सरकार असन्तुष्ट पक्षसँग सहमति जुटाएर राति अबेरसम्म भए पनि बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारीमा रहेको जनाएको छ ।


