धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सुदूरपश्चिम प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि रकम तोकेरै चन्दा मागेको पाइएको छ । रास्वपाका वडा समितिले नै व्यवसायीबाट चन्दा मागेको पत्र सार्वजनिक भएको हो ।
कञ्चनपुरमा एक निर्माण कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गरेर पत्र पठाउँदै रास्वपाले ३० हजार रुपैयाँ आर्थिक सहयोग मागेको हो । रास्वापको कृष्णपुर नगरपालिका–१ का वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको पत्रमा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकसँग ३० हजार मागिएको छ ।
पत्रमा विगतदेखि कन्स्ट्रक्सनले वडामा काम गर्दै आएको र स्थानीयले समेत सहयोग गर्दै आएको उल्लेख गर्दै रास्वपाको असार १ गतेदेखि हुने प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग आवश्यक परेको उल्लेख छ ।
यता रास्वपा वडा सभापति बोहराले भने अधिवेशनका लागि नभई सडक मर्मतका लागि आर्थिक सहयोग मागिएको बताए । ‘मैले सडक मर्मतका लागि सहयोग माग्दै साथीहरुमार्फत पत्र पठाएको थिए,’ उनले भने, ‘तर, पत्रमा उहाँहरुले अधिवेशनका लागि भन्दै लेखिदिनुभएको रहेछ । त्यो विषय थाहा पाउने वित्तिकै पत्र फिर्ता ल्याइसकेको छु ।’


