धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलियाकी ७२ वर्षिया रीजु घर्तीमगर दुई नातिनीहरूसँग बस्दै आएकी थिइन्। २०८१ भदौ ९ गते राति पाँच वर्षिया लीजा र छ वर्षिया काजललाई सर्पले टोकेपछि दुवैको मृत्यु भयो ।
बालिकाका बुबाको पहिले नै निधन भइसकेको थियो भने आमा रोजगारीका लागि जिल्ला बाहिर थिइन् । सोही रात ओछ्यानमै सुतेका तीनैजनालाई सर्पले टोकेको थियो । हजुरआमा बाँच्न सफल भइन् तर दुवै नातिनीलाई बचाउन सकिएन ।
यस्तै, २०८१ असोज ८ गते गौरीगङ्गा नगरपालिका–८ राजीपुरमा बाजुराको त्रिवेणी नगरपालिका–२ चौसालका दृष्टिविहीन ४० वर्षिय सर्जन बुढाको पनि सर्पदंशबाट मृत्यु भएको थियो ।
यी घटना कैलालीमा सर्पदंशको जोखिम कति गम्भीर छ भन्ने प्रतिनिधि उदाहरण मात्र हुन् । गर्मी मौसम सुरु भएसँगै विषालु सर्पहरू बस्ती र घरसम्म पुग्ने तथा मानिसको ज्यान लिने घटनाहरू बढ्ने गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो १५ वर्षमा देशभर सबैभन्दा बढी सर्पदंशका घटना कैलालीमा भएका छन् । कैलालीमा ६६ र कञ्चनपुरमा ३७ घटना दर्ता भएका छन् । यी दुवै जिल्ला सर्पदंशका घटनाका हिसाबले देशकै अग्रस्थानमा छन् । तथ्याङ्कअनुसार कैलालीमा १९ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । कञ्चनपुरमा ४ जनाको मृत्यु हुँदा ५५ जना घाइते भएका छन् ।
यद्यपि, सर्पदंशबाट सबैभन्दा धेरै मृत्यु हुने जिल्ला भने दाङ रहेको छ। पछिल्लो १५ वर्षमा त्यहाँ ३५ जनाले सर्पदंशका कारण ज्यान गुमाएका छन् । देशभर दाङपछि सिराहा, सप्तरी, कैलाली र मोरङमा सर्पदंशबाट मृत्यु हुनेको सङ्ख्या बढी छ ।
कैलालीमा सर्पदंशका घटना धेरै भए पनि समयमै उपचार सुविधा उपलब्ध भएकाले मृतकको सङ्ख्या तुलनात्मक रूपमा कम रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर बताउँछन् । कैलालीमा हाल दुई स्थानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने तयारी भइरहेको छ’, उनले भने, ‘सर्पले टोकेको व्यक्तिलाई समयमै अस्पताल पुर्याउन सके ज्यान बचाउने सम्भावना धेरै हुन्छ।’
हाल कैलालीको सेती प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । मलाखेतीमा नयाँ केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ भने नेपाली सेनाले बडैपुर क्षेत्रमा पनि उपचार सेवा उपलब्ध गराउँदै आएको छ।
यिनै सेवाका कारण देशभर सबैभन्दा बढी सर्पदंशका घटना हुने जिल्लामध्ये पर्दा पनि कैलालीमा बाँच्ने बिरामीको सङ्ख्या उल्लेख्य रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
सर्पदंशको जोखिम कम गर्न धनगढी उपमहानगरपालिकाको प्रहरी रेस्क्यु टोलीले घरपरिसरमा फेला परेका सर्प समातेर सुरक्षित रूपमा जङ्गलमा छाड्ने काम गर्दै आएको छ।
उपमहानगरपालिका क्षेत्रभित्रबाट अहिलेसम्म तीन हजार सर्पको उद्दार गरिसकेको छ । सर्प उद्धार गरी जङ्गलमा छाडिएको छ। उपमहानगरपालिकाअनुसार गर्मी मौसममा दैनिक आठ वटासम्म सर्प समातेर जंगलमा छाड्ने गरिएको छ । विशेषगरि घरका कोठा, काठका र्याक, पुराना फ्रिज, दराज तथा घरबारीमा भेटिएका सर्प उद्धार गर्ने गरिएको छ ।


