धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेश प्रमुख नजिर मियाँले जेठ १८ गते प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि करिब दुई सातासम्म छलफल भएको थियो। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले कार्यक्रमको प्रभावकारिता, कार्यान्वयनको अवस्था तथा स्रोत व्यवस्थापनका विषयमा विभिन्न प्रश्न र सुझाव राखेका थिए।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै नीति तथा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले नीति तथा कार्यक्रम प्रदेशका नागरिकको हित, विकास र समृद्धिलाई केन्द्रमा राखेर तयार गरिएको भन्दै त्यसको समर्थन गर्न आग्रह गरे।
मुख्यमन्त्रीको जवाफपछि सभामुख भीमबहादुर भण्डारीले मत विभाजन प्रक्रियामार्फत नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकमा उपस्थित बहुमत सदस्यले समर्थन जनाएपछि सभामुख भण्डारीले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयारीलाई अन्तिम रूप दिएको छ। प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।


