धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व चयनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। आगामी असार १ गते हुने पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन नजिकिँदै जाँदा प्रदेश सभापति पदका लागि विभिन्न नेताहरूले दाबी प्रस्तुत गर्न थालेका छन्। प्रदेश सभापति पदका प्रमुख दावेदारहरूमा वर्तमान प्रदेश सभापति ई. प्रकाश बिष्ट, कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनाल तथा सञ्चार क्षेत्रका उद्यमी जनकराज पन्त रहेका छन्। यसबाहेक केही अन्य नेताहरूले पनि नेतृत्वका लागि आन्तरिक तयारी गरिरहेको स्रोतले जनाएको छ।
रास्वपाले प्रदेशस्तरमा आफ्नो संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखेका बेला नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ। सभापतिका आकांक्षीहरूले संगठनलाई आधुनिक, व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वर्तमान सभापति ई. प्रकाश बिष्टले पार्टी निर्माणको सुरुवाती चरणदेखि आफूले संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै निरन्तरताको पक्षमा मत मागिरहेका छन्। उनले सुदूरपश्चिमका सबै जिल्लामा संगठनलाई थप सशक्त बनाउने आफ्नो योजना रहेको बताएका छन्।
यस्तै प्रतिनिधिसभा सदस्य केपी खनालले प्रदेश संगठनलाई राष्ट्रिय नेतृत्वसँग अझ प्रभावकारी रूपमा जोड्दै जनताको मुद्दालाई सशक्त ढंगले उठाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। खनालले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न प्रदेश संगठनलाई थप गतिशील बनाउनुपर्ने धारणा राख्दै आएका छन्। टेलिभिजन उद्यमी जनकराज पन्तले पनि सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। सञ्चार क्षेत्रको अनुभवलाई संगठन निर्माणमा उपयोग गर्ने योजना रहेको बताउँदै उनले युवाहरू, व्यवसायी तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूलाई पार्टीसँग जोड्ने लक्ष्य लिएको बताएका छन्।
अधिवेशनमार्फत प्रदेश सभापति, उपसभापति सहित नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ। नेतृत्व चयन सहमतिबाट हुने वा निर्वाचन प्रक्रियामार्फत टुंगिने भन्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ। रास्वपाको पहिलो प्रदेश अधिवेशन भएकाले यसलाई संगठन निर्माणको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। अधिवेशनले आगामी दिनमा पार्टीको प्रदेशस्तरीय राजनीतिक दिशा, संगठनात्मक संरचना तथा कार्ययोजनालाई समेत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिममा पछिल्लो समय रास्वपाप्रति युवापुस्ताको आकर्षण बढिरहेका बेला नेतृत्वको प्रतिस्पर्धाले संगठनलाई थप चलायमान बनाएको नेताहरूको भनाइ छ। अधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरूले जिल्लास्तरमा भेटघाट, छलफल तथा आन्तरिक संवादलाई तीव्रता दिएका छन्।


