धनगढी । कैलालीको टीकापुर नगरपालिकामा कार्यवाहक नगर प्रमुख नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
टीकापुर नगरपालिका–१ का रामबहादुर नागरीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले नगरपालिकाको विवादित निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
नागरीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था विपरीत आफूलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारीबाट वञ्चित गरी अर्का व्यक्तिलाई जिम्मेवारी दिइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिँदै अन्तिम निर्णय नहुँदासम्म टीकापुर नगरपालिकाको २०८३ जेठ १५ गतेको निर्णय कार्यान्वयन नगर्न तथा यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जनाएको छ ।
टीकापुर नगरपालिकाका निर्वाचित नगर प्रमुख रामलाल डगौराले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्न २०८२ माघ ५ गते पदबाट राजीनामा दिएका थिए । नगर प्रमुख पद रिक्त भएपछि कार्यपालिका सदस्यहरूको सर्वसम्मत निर्णयबाट रामबहादुर नागरीलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिइएको थियो । त्यसपछि कार्यपालिकाका बहुमत सदस्यहरूले वडा नम्बर ६ का निर्वाचित वडा अध्यक्ष बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख नियुक्त गर्ने निर्णय गरेका थिए ।
अदालतले आदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएको अवस्थामा कार्यपालिका सदस्यले कार्यवाहक जिम्मेवारी निर्वाह गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै विवादित निर्णयको वैधानिकताबारे थप सुनुवाइ आवश्यक रहेको जनाएको छ । सर्वोच्च अदालतले विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न निर्देशन दिँदै जेठ २८ गते बिहान १० बजे छलफलका लागि उपस्थित हुनसमेत आदेश दिएको छ ।


