धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दल नेताबाट हटाउन हस्ताक्षर गरेकी नेपाली कांग्रेसकी सांसद डम्मरी महराले आफ्नो निर्णय फिर्ता लिएकी छन् । मङ्गलबार पत्रकार सम्मेलन गर्दै महराले मुख्यमन्त्री शाहविरुद्धको अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी हुन्।
महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।
शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
यसअघि मुख्यमन्त्री शाहविरुद्ध आफ्नै दलका ९ जना सांसदले संसदीय दलको नेता परिवर्तनका लागि हस्ताक्षर बुझाएका थिए । तर, हस्ताक्षर गर्नेमध्येकी महराले निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई पद जोगाउन केही राहत मिलेको छ।
‘सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएकोले मेरो हस्ताक्षर फिर्ता लिएको व्यहोरा जानकारीका साथै मेरो पूर्ण समर्थन माननीय मुख्यमन्त्री तथा संसदीय दलको नेता कमल बहादुर शाहज्यूलाई नै रहेको जानकारी गराउँदछु,’उनले भनिन्।
महराको यो निर्णयसँगै मुख्यमन्त्री शाहविरुद्ध हस्ताक्षर गर्ने सांसदहरूको संख्या अब ८ मा झरेको छ । १८ सदस्यीय कांग्रेस संसदीय दलमा बहुमत पुर्याउन कम्तीमा १० जना सांसद आवश्यक पर्छ।
९ जनाले हस्ताक्षर गर्दा सुरु भएको विद्रोहमा एक जनाले साथ छाडेपछि विद्रोही समूहलाई गणितीय सङ्कट पर्ने देखिएको छ। यसअघि मुख्यमन्त्री शाहलाई हटाउन मानबहादुर रावल, दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीताकुमारी चौधरी, तुलसी देवकोटा, डम्मरी महरा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री शाहले राजीनामा दिन अस्वीकार गरेपछि असन्तुष्ट पक्षले दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाएको थियो।



