बैतडी: हरिया पातको खोचोमा काफलका रसिला राता दाना देख्दा जोसुकैको मुखमा पानी आउँछ । यही फल बेच्न यहाँका बालबालिका गाडीको झ्यालतिर दौडिरहेका देखिन्छन् । अमिलो र गुलियो स्वादको काफलमा अझ बिरेनुन र जिरा मोलेर खाँदा यसको स्वाद झनै गज्जबको हुन्छ । ताजा काफलको स्वादले यात्रा गरिरहेका यात्रुलाई क्षणभरमै स्फूर्ति दिन्छ । जिब्रोमै झुन्डिने काफलको स्वाद बालबालिकाको शिक्षाको सारथि बनेको छ ।
पाटन नगरपालिका–९, हुक्केडाँडामा रहेको सिद्धेश्वर माविमा कक्षा ७ मा अध्ययनरत जनक महरा काफल बेचेरै कापीकलमको जोहो गर्दै आउनुभएको छ । उहाँको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । बुवा सुस्त मनस्थितिका हुनुहुन्छ । छाक टार्न आमाले गिट्टी कुट्दै आउनुभएको छ । काफल पाक्ने सिजन जनकका लागि दसैँभन्दा कम खुसी हुँदैन ।
सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत पवित्रा महरालाई पनि काफल पाक्ने सिजनले शिक्षा आर्जन गर्न सहयोग पु¥याएको छ । यो सिजनमा प्रतिकिलो दुई सय रुपियाँका दरले काफल बिक्री हुने गरेको छ । काफल बेचेर दैनिक पाँच सय रुपियाँसम्म आम्दानी हुने गरेको पवित्राले बताउनुभयो ।
वैशाख र जेठमा पाक्ने काफलबाट यहाँका बालबालिका मात्रै होइन, ग्रामीण महिलाको घरायसी अर्थतन्त्रसमेत चलेको छ । पाटन नगरपालिका–९, हुक्केडाँडाका बेलु महरा र रामसिंह महराले काफल पाक्ने सिजनमा ३० देखि ३५ हजार रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । वनजङ्गलबाट काफल सङ्कलन गरेर सडक किनारमा बेच्ने गरेको उहाँको भनाइ छ ।
चर्चामा नआएको काफल कोरिडोर
बैतडीको गोठालापानीदेखि कैलालीको सहजपुरसम्म करिब १६५ किलोमिटर सडकखण्ड सुदूरपश्चिमको मुख्य काफल पाइने कोरिडोर हो । गोठालापानीबाट हिँडेपछि देहिमाण्डौ, सतबाँझ, पाटन, हरिचनमोड, रागाँ जुझौना, खोडपे, अनारखोली, साहुखर्क, बुडर हुँदै सहजपुरसम्मको सडक किनारमा स्थानीय बालबालिका काफल बेचेर आफ्नो पढाइखर्च जुटाइरहेका भेटिन्छन् । यो सडकखण्ड हिजोआज अस्थायी ‘काफल कोरिडोर’ जस्तै बनेको छ । सुदूरपश्चिमका तराईका कैलाली र कञ्चनपुरबाट पहाडका सात वटा जिल्ला जोड्ने यो सडकखण्डमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजार सानाठुला सवारीसाधन ओहोरदोहोर गर्छन् । यीमध्ये प्रायः सबै सवारीसाधनमा सवार यात्रुले काफल किन्ने गरेका छन् ।
तराईमा दोब्बर मूल्य
बैतडी र डडेलधुरामा दुई सय रुपियाँ किलो पाइने काफल तराईनजिकको सहजपुरमा चार सय रुपियाँ प्रतिकिलोमा पर्ने गरेको जिपचालक हरिश चन्दले बताउनुभयो । तराईका अधिकांश मानिस गर्मी छल्न कैलालीकै मध्यपहाडी क्षेत्र सहजपुरसम्म पुग्ने भएकाले काफलको माग अत्यधिक हुँदा कुनैबेला चार सय रुपियाँ किलोमा समेत नपाइने गरेको उहाँले बताउनुभयो । यात्रु बोकेर नियमित तराई–पहाड ओहोरदोहोर गर्नुहुने चन्दले बैतडी र डडेलधुराबाट सस्तोमा काफल किनेर आफन्त र साथीलाई तराई लगिदिने गरेको बताउनुभयो । पहाडको काफल तराईका बजारमा पुग्दा पाँच सय रुपियाँमा हारालुछ हुने गरेको तरकारी व्यवसायी कर्णदेव भट्टले बताउनुभयो ।
काफलमा आयुर्वेदिक गुण
जङ्गली खाद्यफल अन्तर्गत गर्ने काफल स्वाद मात्रै नभई स्वास्थ्यका दृष्टिले पनि दाभदायक मानिन्छ । आयुर्वेदमा काफलको फल, यसको रुखको बोक्रा, पात र जरालाई समेत विभिन्न रोगको उपचारका लागि प्रयोग गरिन्छ । काफलको दाना एन्टिअक्सिडेन्ट र भिटामिन ‘सी’ पाइने वैज्ञानिक बैतडी आयुर्वेदिक औषधालयका देवदत्त कलौनीले बताउनुभयो । उहाँले काफलमा पाइने तìवले पेट सफा गर्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने र मौसमी रोगबाट जोगाउने बताउनुभयो ।
उत्साहसँगै जोखिम
मौसमी फलका रूपमा रहेको काफल जति स्वादिलो छ, यसको सङ्कलन पनि त्यति नै जोखिमपूर्ण रहेको छ । वनजङ्गल गएर रुख चढेर काफल टिप्नु निकै कठिनाइको काम भएको सिद्धेश्वरका प्रेम भाटले बताउनुभयो । उहाँले रुखबाट लडेर प्रत्येक वर्ष घाइते हुने र ज्यान गुमाउनेको सङ्ख्य बढ्दै गएकाले स्थानीय तहको सरकारले काफल व्यवसायीलाई सुरक्षित डोरी वितरण गर्नुपर्ने बताउनुभयो । काफलबाट जुस, जाम र जेली बनाउन समुदायस्तरमा तालिम दिन सके ग्रामीण अर्थतन्त्रमा यसले ठुलो परिवर्तन ल्याउने उहाँको भनाइ छ । गोरखापत्रबाट


