धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित जंगलमा जुवाखाल सञ्चालन भइरहेको पाइएको छ । विशेष सूचनाका आधारमा बुधबार इलाका प्रहरी कार्यालय अत्तरियाको टोलीले जंगलमा छापा हानेको हो । इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हिरा सिंह महराका अनुसार प्रहरी टोलीले जुवाखाल सञ्चालन भइरहेको स्थानमा छापा हाने पनि जुवाडेहरू भने फरार भएका छन् ।
प्रहरीले घटनास्थलबाट एक सरकारीसहित ११ वटा मोटरसाइकल बरामद गरेको छ । बरामद मोटरसाइकलहरू नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको डीएसपी महराले बताए । उनका अनुसार बरामद मोटरसाइकल कसका हुन् भन्नेबारे पहिचान गर्ने काम भइरहेको छ ।
‘प्रहरी टोली पुग्दा जुवाडेहरू सबै फरार भइसकेका रहेछन्,’ डीएसपी महराले भने, ‘जंगल क्षेत्रमा जुवाडे समात्न केही कठिन हुँदो रहेछ । अब यस्ता गतिविधिविरुद्ध छापा मार्ने कामलाई नियमित बनाउँछौँ ।’ प्रहरीले जंगल क्षेत्रमा जुवालगायतका गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा निगरानी बढाएको जनाएको छ ।

