धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०भित्र आन्तरिक असन्तुष्टि चर्किरहेका बेला संसदीय दलको बैठक बोलाइएको छ।
नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री खगराज भट्टले सोमबार दिउँसो ३ बजेका लागि दलको बैठक आह्वान गरेका हुन्। प्रदेश सरकारको आगामी कार्यदिशा, बजेट निर्माण तथा संसदीय दलभित्र देखिएका असन्तुष्टिका विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले पनि भट्टलाई नेकपा संसदीय दलको नेता र मुख्यमन्त्रीका रूपमा उल्लेख गरेको छ।
प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट निर्माणको तयारीमा रहेका बेला बैठक बस्न लागेको हो। अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि प्रदेश सरकार बजेट निर्माणको नयाँ प्रक्रियामा अघि बढिरहेको छ। मुख्यमन्त्री भट्टले असोज १५ गतेभित्र बजेट ल्याउने तयारी भइरहेको बताउँदै आएका छन्।
यसैबीच बजेट निर्माणसँगै सांसदहरूले योजना सिफारिस गर्न पाउने सीमा, मन्त्रालयगत योजना तथा सचिव व्यवस्थापनलगायत विषयमा पनि छलफल आवश्यक देखिएको छ।
तर बजेटको तयारीभन्दा बाहिर नेकपा संसदीय दलभित्रको असन्तुष्टि बैठकको मुख्य चासो बन्ने देखिएको छ। हालै नौ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री भट्टलाई सरकार सञ्चालन, मन्त्री नियुक्ति, नीति तथा योजना आयोग र बजेट निर्माण प्रक्रियालगायत विषयमा १७ बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए।
त्यसअघि भट्टलाई संसदीय दलको नेताबाट हटाउन केही सांसदले हस्ताक्षर अभियानसमेत चलाएका थिए। नौ सांसदले हस्ताक्षर गरे पनि दलको नेता परिवर्तनका लागि आवश्यक बहुमत नपुगेपछि अभियान अघि बढ्न नसकेको विवरण सार्वजनिक भएका छन्।
हस्ताक्षर अभियानपछि सार्वजनिक भएको १७ बुँदे दस्तावेजमा सरकार सञ्चालनको शैली, राजनीतिक सहमति, न्यूनतम साझा कार्यक्रम, आगामी प्राथमिकता तथा नीति, योजना र बजेट निर्माण प्रक्रियाबारे प्रश्न उठाइएको थियो। पछिल्लो समय असन्तुष्ट सांसदहरूसँग पार्टी नेतृत्वले छलफलसमेत गरेको छ।
यही पृष्ठभूमिमा बस्न लागेको संसदीय दलको बैठकलाई नेकपाभित्रको असन्तुष्टि संवादमार्फत कसरी अघि बढाइन्छ भन्ने दृष्टिले पनि हेरिएको छ। बजेट निर्माणको समयसीमा र सरकार सञ्चालनका विषयमा दलभित्र साझा धारणा बनाउने प्रयास बैठकबाट हुने अपेक्षा गरिएको छ।

