धनगढी । भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अष्ट्रेलियामा बसोवास गर्ने सुदूरपश्चिम समाजले ३ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ ९२ पैसा सहयोग गरेको छ ।
बाढीका कारण घर, सम्पत्ति तथा जीविकोपार्जन गुमाएका परिवारलाई राहत पुर्याउने उद्देश्यले सुदूरपश्चिम समाजले शुरु गरेको सहयोग अभियानमा २४ जनाले सहयोग गरेका हुन् ।
सहयोग संकलनमा सुदूरपश्चिम समाज सिड्नीका अध्यक्ष कुमार जे शाहको नेतृत्वमा रहेको सम्पूर्ण टिमले विशेष योगदान गरेको छ। विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले अध्यक्ष शाहको नेतृत्वमा समाजको टिमले अभियानमा साथ दिएको हो।
त्यस्तै, सुदूरपश्चिम समाज अष्ट्रेलिया–एडिलेडका अध्यक्ष निराजन खड्का लगायतको टिमले पनि अभियानमा सहयोग तथा सद्भाव व्यक्त गरेको समाजले जनाएको छ। विदेशमा रहेका सुदूरपश्चिमेली संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको नेतृत्वमा जुटेको सहयोगले विपत्तिको समयमा आपसी एकता र मानवीय भावना बलियो भएको समाजको भनाइ छ।
भोटेकोशी बाढीले विशेषगरी स्थानीय बस्तीमा ठूलो क्षति पुर्याएपछि पीडित परिवारको तत्कालीन राहत तथा आगामी पुनःस्थापनाका लागि सहयोग आवश्यक देखिएको भन्दै समाजले अभियान सञ्चालन गरेको हो।
समाजले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, अग्रज तथा प्रति हार्दिक आभार व्यक्त गरेको छ। समाजले सानो–सानो सहयोगले पनि विपत्तिमा परेका परिवारका लागि ठूलो अर्थ राख्ने भन्दै ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनासहित आगामी दिनमा पनि सहयोग र एकताको भावना कायम राख्न आह्वान गरेको छ।

