कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्छिन् । तर उनी नगदमा तरकारी बेच्दिनन् । खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेलाजस्ता तरकारी उनले गाउँघरका किसानसँग गहुँलगायत अन्न साटेर दिने गरेकी छन् । “आजभोलि गहुँको याम भएकाले गहुँसँग तरकारी साट्छौँ, धानको सिजनमा धानसँग पनि साट्छौँ”, उनले भनिन्, “दुई तौल गहुँबराबर एक तौल तरकारी दिन्छौँ, नगदभन्दा अन्नसँग साट्दा बढी फाइदा हुन्छ ।”
साँझ खेतबारीबाट तरकारी टिपेर सफा गरी टोकरीमा राख्ने र बिहानै गाउँगाउँ पुगेर अन्नसँग साट्ने काम दैनिक जसो हुने गरेको उनी बताउँछिन् । अहिले गाउँघरमा ताजा तरकारीको माग बढेकाले महिलाहरूले २० देखि ३५ किलोसम्म तरकारी टोकरीमा बोकेर बिक्रीका लागि लैजाने गर्छन् । तरकारीसँग अन्न साटेपछि फर्किँदा भारी दोब्बर हुने भएकाले घरपरिवारका सदस्यलाई फोन गरेर अन्न बोक्न बोलाउनुपर्ने अवस्था आउने गरेको उनले सुनाइन् ।
कञ्चनपुरका ग्रामीण क्षेत्रमा तरकारीसँग अन्न साट्ने चलन नयाँ होइन । लालझाडी गाउँपालिका–४ का मङ्गलबहादुर चौधरीका अनुसार यो परम्परा धेरै पुरानो हो । “पहिले नगदको पहुँच कम हुँदा गाउँघरमा वस्तु साटासाटको चलन थियो”, उनले भने, “अहिले बजार र प्रविधिको पहुँच बढे पनि गाउँमा त्यो चलन अझै बाँकी छ ।”
विशेषगरी ग्रामीण क्षेत्रमा अधिकांश परिवार कृषिमा निर्भर भएकाले सिजनअनुसार अन्नको उपलब्धता हुने गर्छ । त्यही कारण किसानहरू नगदभन्दा अन्न दिएर तरकारी लिन सहज मान्छन् । अन्नसँग तरकारी साट्दा किसानलाई दोहोरो फाइदा हुने गरेको छ । एकातिर तरकारी खेती गर्ने परिवारले वर्षभरिको अन्न जुटाउन सक्छन् भने अर्कातर्फ बजारमा बिक्री गर्दा नगद आम्दानी पनि हुन्छ । अहिले बजारमा तरकारी प्रतिकिलो रु २० देखि रु ५० सम्ममा बिक्री भइरहेको छ भने गहुँको मूल्य प्रतिकिलो रु ४० देखि रु ४२ सम्म रहेको छ ।
थोरै जमिन भएका किसानका लागि तरकारी खेती आम्दानीको महत्त्वपूर्ण स्रोत बन्दै गएको पिपलाडीका गङ्गा चौधरी बताउँछिन् । “उत्पादन भएको तरकारी अन्नसँग साटेर घरखर्च चलाउने र बाँकी बजारमा बिक्री गरेर नगद आम्दानी हुन्छ”, उनले भनिन्, “सासूहरूले पनि यसैगरी पहिला तरकारी बेच्थे, अहिले पनि ग्रामीण क्षेत्रमा अझै यो प्रचलन जीवित रहेको छ ।”
तरकारी उत्पादनमा पुरुषको सहभागिता रहने भए पनि तरकारी स्याहार्ने, रोगकीरा नियन्त्रण गर्ने, टिप्ने र गाउँगाउँ पुगेर बिक्री गर्ने काममा महिलाको भूमिका बढी देखिन्छ । यसले ग्रामीण महिलाको आर्थिक सक्रियता र पारिवारिक जिम्मेवारी दुवैलाई उजागर गरेको छ ।


