धनगढी । सुदूरपश्चिम प्रदेशका अर्थसचिव राजेन्द्रकुमार हमाल संघीय सरकारबाट काठमाडौं सरुवा भएको एक साता बितिसक्दा पनि प्रदेशबाट रमाना भएका छैनन्। सरुवा पत्र कार्यान्वयनमा नआउँदा उनी अहिले पनि आर्थिक मामिला तथा योजना मन्त्रालयमै बसेर बजेट निर्माण प्रक्रियामा सक्रिय रहेको स्रोतको दाबी छ।
संघीय सरकारले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हमाललाई राष्ट्रिय महिला आयोग, काठमाडौंको सचिवमा सरुवा गरेको थियो। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार उनको सरुवा भएको बताइएको छ। तर, हालसम्म उनले रमाना नलिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
सुदूरपश्चिममा अघिल्लो बजेट निर्माणकै क्रममा अर्थ मन्त्रालयको भूमिकालाई लिएर विवाद भएको थियो। तत्कालीन आर्थिक मामिलामन्त्री विक्रम धामीले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन सकेन। बजेटमा सरकारको नीति तथा योजनाविपरीत कार्यक्रम समावेश गरिएको, प्राथमिकता निर्धारणमा कमजोरी भएको तथा बजेट निर्माणमा छेडखानी गरिएको आरोपसमेत लागेको थियो।
बजेट विवादकै बीच नेकपा एमालेले खर्च कटौती प्रस्ताव दर्ता गरेपछि सत्ता गठबन्धनमा थप संकट उत्पन्न भएको थियो। त्यसपछि मुख्यमन्त्रीले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई हटाए भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यही घटनाक्रमपछि प्रदेशमा सत्ता समीकरण परिवर्तन भएको थियो।
अहिले प्रदेश सरकारले अन्य मन्त्रालयका सचिवको जिम्मेवारीसमेत हेरफेर गरिसकेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारीको सरुवापछि पदमराज जोशीलाई जिम्मेवारी दिइएको छ। सामाजिक विकास मन्त्रालयमा संगिता ओझा सचिवका रूपमा आएकी छन्। तर आर्थिक मामिला मन्त्रालय भने अझै हमालकै नेतृत्वमा छ।
यसैबीच संघीय सरकारले पूर्वाधार विकास मन्त्रालयका सहसचिव बलराम रिजाललाई सुदूरपश्चिमको प्रदेश सचिवका रूपमा कामकाजमा खटाएको छ। असोज ९ गते जारी पत्रअनुसार रिजाललाई प्रदेशमा पठाउने निर्णय भए पनि उनी अहिलेसम्म प्रदेशमा पुगिसकेका छैनन्।
रिजाललाई काठमाडौंमै रोक्ने र हमाललाई नै प्रदेशमा कायम राख्ने प्रयास भइरहेको स्रोतको दाबी छ। अघिल्लो बजेटमा देखिएका विवाद समाधान गर्दै नयाँ बजेट निर्माणमा हमाललाई नै निरन्तरता दिन खोजिएको स्रोतको भनाइ छ।
तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने हमालको सरुवाबारे आधिकारिक जानकारी नआएको जनाएको छ। कार्यालयका सूचना अधिकारी शेरबहादुर बस्नेतले यस विषयमा कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताए। सरुवा भएको एक सातासम्म रमाना नलिनुको कारणबारे प्रतिक्रिया लिन खोज्दा सचिव हमालसँग सम्पर्क हुन सकेन।

