धनगढी । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको बृहत्तर हितका लागि २ वटा काम हुनुपर्ने बताएका छन्। पार्टीको बृहत्तर एकताका लागि सभापति गगन थापा लचिलो हुनुपर्ने र निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानलाई पार्टीले ध्यान दिनुपर्ने नेता लेखकको भनाइ छ।
सभापति गगन थापासँग आफूले यिनै दुई अपेक्षा राखेको पनि लेखकको भनाइ छ। ‘सभापति गगन थापाजीसँग हाम्रा २ अपेक्षा र अपिल छन्, पार्टीलाई बृहत्तर एकताका लागि सभापति थापाजी हदैसम्म लचिलो हुनुपर्छ। हिजो कांग्रेस विभाजन भएर कांग्रेस प्रजातान्त्रिक भएका बेला गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले लचकता अपनाएर एकता गर्नुभएको थियो, अहिलेका सभापति र पदाधिकारीले पनि लचकता अनपनाउनुपर्छ,’ संस्थापनइतर पक्षले आज धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै लेखकले भने, ‘साथै शेरबहादुर देउवा र परिवारको लोकतन्त्रका लागि, राष्ट्रियता र उन्नति तथा विकासका लागि योगदान छ, यसमा पार्टीले ध्यान दिनुपर्छ।’
देउवाबिना नै सुदूरपश्चिममा कार्यक्रम गर्नुपरेको उनले उल्लेख गरेका थिए। देउवा उपचारका लागि विदेशमा छन्।
पार्टी एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। कांग्रेसको जीवन यो देशको राष्ट्रियता र लोकतन्त्रसँग जोडिन्छ। कांग्रेस बलियो भएका बेला राष्ट्रियता र लोकतन्त्र बलियो भएको छ। कांग्रेसमा बिग्रह भएका बेला राष्ट्रियता कमजोर र लोकतन्त्र अपहरित र समाप्त भएको इतिहासले देखाएको तथ्य हो,’ लेखकले भने, ‘त्यसैले हामी एकताबद्ध र संगठित हुन जरूरी छ।’
उनले १५ औं महाधिवेशनको निष्पक्षता कायम हुने गरी पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिए। सबैभन्दा महत्त्वपूर्ण भूमिका सभापति गगन थापाको हामीले अपेक्षा गरेका छौं,’ उनले भने, ‘यही भेलाबाट सभापति थापाजीलाई अपिल गर्न चाहन्छु( हदैसम्मको लचकता अपनाएर १५ औं महाधिवेशनलाई निष्पक्ष ढंगले गर्ने गरी मिलाउनुपर्छ।’


