धनगढी । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक अतिक्रमण हटाउने योजना तयार पार्न यहाँका स्थानीय तह तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यहाँका नौ वटै पालिका र सरकारी कार्यालयलाई पत्राचार गर्दै सार्वजनिक जग्गाको पहिचान गरेर यथार्थ विवरण सङ्कलनका साथै अतिक्रमण हटाउने योजना तयार पार्न आग्रह गरेको हो ।
कञ्चनपुरमा सार्वजनिक जमिनको संरक्षण र अभिलेख व्यवस्थापन गर्नका लागि सार्वजनिक जमिन पहिचानको कार्य अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए ।
गृह मन्त्रालयको वैशाख १६ गतेको पत्र अनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनका सम्बन्धमा उनले जिल्लास्थित नौ वटै स्थानीय तह तथा सरकारी कार्यालयको कार्यक्षेत्रभित्र पर्ने अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यथार्थ विवरण सङ्कलन र अतिक्रमण हटाउने योजना तयार गरी यथाशीघ्र उपलब्ध गराउन आग्रह गरिएको बताए ।
कञ्चनपुरका वनक्षेत्रमा मात्रै अनुमानित छ हजार हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरले वनक्षेत्रमा अतिक्रमण बढ्दो क्रममा रहेको बताए ।


