धनगढी । कैलालीको भजनी क्षेत्रमा रहेका ठूला फाँट, फाँटमा हलगोरु र ट्याक्टर लिएर रोपाइँका लागि तयारी गरिरहेका किसान आकाश हेर्दै भगवानसँग पानी पारिदिन पुकार्थे । तर, त्यही किसानी बस्ती नजिकै रहेको भजनी नगरपालिका–५ पलियापुरका स्थानीय भने बर्खायाममा पानी नपरोस् भन्ने कामना गर्थे । किसानका लागि बर्खामा पानी नपर्दा वर्षभरिको उत्पादनमा चिन्ता बढ्नु स्वभाविक थियो । तर त्यो भन्दा बढी पानी पर्ने वित्तिकै हुने डुवानका कारण विस्तापित हुनुपर्ने डरले पलियापुरबासीलाई सताइरहन्थ्यो । पलियापुर बस्तीमा कान्द्रा नदीबाट आउने बाढीले १६ घर सधै डुबानमा पर्ने गर्दथे । वर्षौँसम्म बाढी र डुबानले उनीहरूको जीवनलाई यति असहज बनायो कि विस्तापित भइ सडक छेउमा त्रिपालमुनि रात काट्नु नियति बन्दै आएका थियो ।
तर, अहिले उक्त समुदायको दृश्य फेरिएको छ । बाढी सुरक्षित अग्ला आवास निर्माण भएपछि त्यही बर्खा अब उनीहरूका लागि भयको विषय रहेन । “विगतमा बाढी आउँदा कहाँ जाऊँ, कसरी ज्यान जोगाउँ भन्ने मात्रै सोच हुन्थ्यो,” स्थानीय कोपिला टमटाले विगत सम्झिँदै भनिन्, “अब त आफ्नै घरमै बस्न पाइन्छ, अरू ठाउँ डुबानमा परे पनि हाम्रो घर सुरक्षित हुन्छ ।” विगतका वर्ष बर्खामा पुलियापुरका अधिकांश स्थानीयले चार महिना हुलाकी राजमार्गमै बिताउने गरेका थिए । त्रिपालमुनि गुज्रिएका ती दिनहरू सम्झँदै तिलु कामी भन्छिन्, “पानी नपरेको बेला पनि घरभित्र पानी जम्थ्यो, बाढी आयो भने त झन बस्ने ठाउँ नै हुँदैनथ्यो,” उनले भनिन्, “बच्चा, ज्येष्ठ नागरिक सबैलाई लिएर सडकमै बस्नुपथ्र्यो ।” अर्की स्थानीय परुली कामीका अनुसार बर्खायाममा सुत्न त परै जाओस् घरभित्र न खाना पकाउन पाइन्थ्यो, न त बालबालिकालाई जोगाउनै सकिन्थ्यो । देवी बिक पनि त्यही पीडाको साक्षी छिन् ।

बाढी आउँदा कहाँ गएर ज्यान जोगाउँ भन्ने समस्या परेको विगत सम्झँदै उनले भनिन्, ‘अहिले त्यही ठाउँमा आफ्नै अग्ला घर निर्माण भएपछि जति पानी परे पनि ढुक्कसँग भित्रै बस्न पाइएको छ ।’ जेष्ठ नागरिक माता कामी र पार्वती कामीले पनि विगतका पीडादायी दिनहरू सम्झँदै अहिलेको परिवर्तनलाई जीवनकै ठूलो उपलब्धि ठान्छन् । “पहिला त बर्खा आयो कि डर लाग्थ्यो,” माताले भनिन्, “अहिले भने पानी परे पनि डर लाग्दैन ।”
भजनी नगरपालिकाले विभिन्न सामाजिक संस्थाहरुसमेतको सहयोगमा पुलियापुरका १६ विपन्न दलित परिवारका लागि अग्ला सुरक्षित आवास निर्माण गरिदिएको हो । ९५ लाख ४६ हजार रुपैयाँको लागतमा बनेका ती घर भित्र बाढी पस्दैन । टिनको छानाले छाएका दुईकोठे घरहरू अग्ला बनाइएका छन् । जसले गर्दा आसपासमा डुबान भए पनि ती घर भने सुरक्षित रहन्छ ।


