धनगढी । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा ढुवानी खर्च बढेको र कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि भएकाले महासंघले मूल्य बढाउने निर्णय गरेको जानकारी दिएको हो।
महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको उल्लेख छ।
‘सुरक्षित तथा गुणस्तरीय पिउने पानी उपलब्ध गराउनुका साथै यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्र, राजस्व संकलन, रोजगारी सिर्जना, बजार आपूर्ति प्रणाली तथा उपभोक्ता सेवामा महत्वपूर्ण योगदान पुयाउँदै आएको छ। यस्तो महत्वपूर्ण उद्योग क्षेत्रको दिगोपना, सञ्चालन निरन्तरता र संरक्षण सबै पक्षको साझा चासो र जिम्मेवारीको विषय हो। तर पछिल्लो समय पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ्ग रोल, जार, जार क्याप लगायत कच्चापदार्थहरूको मूल्यमा करिब ४० प्रतिशतभन्दा बढीसम्म वृद्धि भएको, डिजेल तथा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धिका कारण ढुवानी लागतमा उल्लेखनीय वृद्धि भएको, साथै अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चापदार्थ आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएको कारण उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेको छ। विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी इरान (इजरायल तनाव, इरान (अमेरिका सम्बन्धमा विकसित द्वन्द्वात्मक अवस्था, तथा त्यसबाट अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावका कारण नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएका छन्। यसको असर कच्चापदार्थको मूल्य, उपलब्धता र उत्पादन लागतमा स्पष्ट रूपमा देखिएको छ।’
अध्ययन, लागत विश्लेषण र वर्तमान अवस्थाको मूल्यांकनका आधारमा हाल कायम मूल्यमा प्रशोधित पिउने पानी बिक्रि वितरण गर्दै उद्योग सञ्चालन निरन्तरता दिन सक्ने अवस्था नरहेको निष्कर्ष महासंघमा पुगेको ठहर छ।



