काठमाडौँ । नेपाल प्रहरीले नेपालभित्र सञ्चालनमा रहेका विदेशी नम्बर प्लेटका सवारी साधनहरूको दुरुपयोग, अवधिविना सञ्चालन र व्यावसायिक प्रयोग नियन्त्रण गर्न विशेष निर्देशन जारी गरेको छ। यसले राजस्व चुहावट, गैरकानुनी गतिविधि र सुरक्षा जोखिम बढाएको ठहर गर्दै प्रहरी प्रधान कार्यालयले देशभरका ट्राफिक प्रहरी र राजमार्ग सुरक्षा कार्यालयहरूलाई कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाबाट जारी भएको निर्देशनअनुसार हाल विभिन्न नाकाबाट प्रवेश गर्ने विदेशी सवारी साधनहरूको अनियमित प्रयोग, तोकिएको समय अवधि नाघी सञ्चालन र व्यावसायिक रूपमा प्रयोग हुने गरेको पाइएको छ। भन्सार ऐन, २०६४ तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अस्थायी अनुमतिका आधारमा मात्र नेपालमा सञ्चालन गर्न पाउने कानुनी व्यवस्था भए पनि त्यसको पालना नभएको भन्दै प्रहरीले कडाइ गरेको हो ।
यस अवस्थालाई नियन्त्रण गरी विदेशी सवारी साधनहरूको कानुनी दायराभित्र सञ्चालन सुनिश्चित गर्न, राजस्व अभिवृद्धि गर्न, अवैध गतिविधि तथा अपराध नियन्त्रण गर्न र सीमा तथा आन्तरिक सुरक्षा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। विदेशी नम्बर प्लेट भएका सवारी साधन देखिएमा भन्सारबाट जारी गरिएको पास तथा चलान, अनुमति अवधि, प्रवेश नाका लगायत अनिवार्य जाँच गर्न भनिएको छ।
नभएको वा गम्भीर उल्लङ्घन भएको पाइएमा सवारी साधन तत्काल नियन्त्रणमा लिई नजिकको भन्सार कार्यालयमा बुझाउने र भन्सार ऐन अनुसार कारबाही गर्न निर्देशन जारी गरिएको छ।


