धनगढी: चिसो मौसमको प्रभाव बढ्दै गएसँगै विद्यार्थीहरूलाई राहत पुर्याउने उद्देश्यले खान पुगोस्, दिन पुगोस् अभियान नेपाल ले डोटी जिल्लाका विभिन्न विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ। अभियानअन्तर्गत डोटीको बडीकेदार गाउँपालिका–५ मा रहेका केदारेश्वर माध्यमिक विद्यालय रन्तोला, गौरीशंकर आधारभूत विद्यालय धमीगाउँ, बुढाकोट आधारभूत विद्यालय बुढाकोट र बयालगाउँ आधारभूत विद्यालय बयालगाउँ मा अध्ययनरत १५० जना विद्यार्थीलाई न्यानो कपडा, झोला तथा आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।
ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरू चिसोका कारण पठन–पाठनमा प्रभावित हुन नपरोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको अभियानका संयोजक घनश्याम भट्ट ले जानकारी दिए। उनले विपन्न तथा असहाय समुदायलाई लक्षित गर्दै हरेक वर्ष अभियान सञ्चालन गर्दै आएको उल्लेख गरे।
“आफ्नै गाउँ–ठाउँमा आएर सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ,” संयोजक भट्टले भने, “आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”
यस वर्ष चिसो अझै बढ्ने अनुमान गरिँदै आएको सन्दर्भमा अभियानले राहत वितरण कार्यक्रमलाई चरणबद्ध रूपमा अन्य स्थानीय तह तथा दुर्गम बस्तीहरूमा समेत विस्तार गर्ने तयारी गरेको जनाएको छ। विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई प्राथमिकतामा राखेर सहयोग गरिने अभियानको योजना छ। बुढाकोट आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर कठायत ले न्यानो कपडा र शैक्षिक सामग्रीले विद्यार्थीहरूलाई ठूलो राहत पुगेको बताए।
“चिसोका कारण बालबालिकाको विद्यालय उपस्थितिमा असर पर्ने गरेको थियो,” उनले भने, “यस्ता सहयोगले विद्यार्थीको मनोबल बढ्नुका साथै पठन–पाठनमा पनि सकारात्मक प्रभाव पारेको छ।” उनले खान पुगोस्, लाउन पुगोस् अभियान टिमप्रति धन्यवाद व्यक्त गर्दै ग्रामीण भेगका विद्यालयहरूमा यस्ता कार्यक्रम अझै आवश्यक रहेको धारणा राखे। गत वर्षबाट सुरु भएको यस अभियानले कैलाली, कञ्चनपुर लगायतका पहाडी जिल्लाका विभिन्न विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा, झोला तथा शैक्षिक सामग्री सहयोग गर्दै आएको छ। यसका साथै अभियानले विपन्न, असहाय तथा आश्रित नागरिकहरूलाई समेत न्यानो कपडा वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।
सामाजिक सेवामा आधारित यस प्रकारका अभियानले दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायका बालबालिकालाई शिक्षा निरन्तरतामा सहयोग पुर्याउनुका साथै समुदायमा आपसी सहयोग र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको सरोकारवालाहरूले बताएका छन्।


