धनगढी । सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाहरूमा चिसो बढेसँगै उच्च लेकाली खर्कहरूमा हिउँ जम्न थालेको छ। घाँसपात सुक्न थालेपछि भेडाबाख्रा र च्याङ्ग्राका बथानसहित गोठालाहरू औल बेँसीतिर झर्न थालेका छन्। हरेक वर्ष हिउँदमा लेकाली क्षेत्रमा बस्न नसकिने भएपछि गोठालाहरू यसरी नै बेँसी झर्ने गर्छन्।
गोठालाहरूका अनुसार वैशाख र जेठको गर्मीमा हरियो घाँसको खोजीमा हिमाल उक्लिएका भेडी गोठालाहरूका लागि चिसोमा लेकको बसाइ असम्भव हुन्छ। पानीका मुहानहरू जम्न थाल्छन् भने चिसोले भेडापाठा बिरामी पर्छन्। गोठालाहरूलाई पनि खुला आकाशमुनि त्रिपाल र सामान्य अस्थायी घरमा रात काट्न मुस्किल पर्छ।
यही कारण अहिले दार्चुलाको अपिहिमाल क्षेत्र, बझाङको साइपाल र बाजुराको बुढीनन्दा लगायतका क्षेत्रबाट गोठालाहरूको लर्को तलतिर झरिरहेको देखिन्छ। उनीहरू अहिले बेँसीका फाँटहरू, नदी किनारका बगरहरू र मध्य पहाडी जिल्लाका सामुदायिक वनहरूमा आफ्ना भेडाबाख्रालाई चराइरहेका छन्।
भेडापालन व्यवसाय सुदूरपश्चिमको हिमाली तथा पहाडका कृषकहरूको प्रमुख अर्थतन्त्रको मेरुदण्ड हो। उनका भेडाबाख्रा किन्न ठेकेदारहरू गोठमै आइपुग्छन्। दार्चुला बजारदेखि भारतका विभिन्न सहरहरूबाट समेत ग्राहकहरू आउने गरेका छन्।
भेडापालनमा पुरुषहरूको मात्र नभई महिलाहरूको पनि उत्तिकै सहभागिता छ। अपि हिमाल गाउँपालिका–२ घुसाकी कुन्धा धामी पनि लामो समयदेखि भेडाबाख्रा, च्याङ्ग्रा पालनमा छिन्। उनी पनि ६ महिना लेक र ६ महिना बेँसी गर्छिन्। सहर बजारको रमझमभन्दा उनलाई प्रकृतिको काखमा बस्दा आनन्द लाग्छ।
उकालो–ओरालो, घनघोर जंगलका बाटोमा सयौँ भेडाबाख्रा सम्हाल्नु त्यति सहज छैन। लेकमा बस्दा सातु–सामलले छाक टार्नुपर्छ र त्रिपालको अस्थायी बासस्थानमा असुरक्षित रात काट्नुलगायतका चुनौतीहरू उनले हरेक दिन सामना गर्छिन्। “दुःख भए पनि ५० देखि १०० वटा भेडाबाख्राको मायाले मलाई यहि जङ्गलमा रमाउन मन लाग्छ,” कुन्धाले भनिन्। उनी अहिले अपि हिमालको माथिल्लो लेकबाट तलतिर झरेकी छिन्। वैशाख–जेठतिर हिमाल लग्ने र असोज–कार्तिकदेखि तल ल्याउने गर्छिन्।
कुन्धाका तीन छोरा, बुहारी र चार–पाँच नातिनातिनी छन्। उनीहरूको पालनपोषण, शिक्षादीक्षा र घरखर्च चलाउने मुख्य स्रोत यही भेडापालन हो। “दुःख त छ, कमाइ पनि ठिकै छ। यसैमा खुसी छु,” कुन्धाले भनिन्।
सहर बजारमा इन्टरनेट र सामाजिक सञ्जालको लतमा मानिसहरू फसिरहेका बेला, यी गोठालाहरू भने ‘नेटवर्क’ भन्दा धेरै टाढा हुन्छन्। दार्चुला र बझाङका विकट लेकहरूमा फोनको टावर पनि टिप्दैन। “हामी सहर बजारको रमझमबाट टाढा छौँ, मलाई मोबाइल चलाउन, फेसबुक चलाउन केही आउँदैन थाहा पनि छैन,” कुन्धाले भनिन्। उनीहरूको साथी भनेकै गोठका भेडाबाख्रा, हातमा बोकेको हँसिया र साथमा जाने कुकुर हुन्।

गोठालाहरूका लागि एकान्तवास सधैँ सुरक्षित हुँदैन। जङ्गली जनावरहरूको डर सधैँ रहन्छ। चितुवा र भालुले भेडाबाख्रामाथि आक्रमण गर्ने जोखिम उत्तिकै हुन्छ। त्यसमाथि मौसमको भर हुँदैन। पानी परेको बेला, हुरी बतास चलेको बेला वा चट्याङ पर्दा ओत लाग्ने बलियो छानो हुँदैन। “कहिलेकाहीँ त साह्रै असुरक्षित महसुस हुन्छ, बिरामी पर्दा औषधि दिने कोही हुँदैन,” कुन्धाले भनिन्।
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा र बझाङका लेकाली भेडाबाख्रा गोठालाहरूको पनि अवस्था यस्तै हो। बाजुराको बुढीनन्दा नगरपालिका लगायत उच्च हिमाली क्षेत्रका किसानहरू पनि यतिबेला बेँसी झर्न व्यस्त छन्। कतिपय झरिसकेका छन् र उनीहरू अछामको चौखुट्टे, मेल्लेख क्षेत्र, डोटीतिर आएका छन्। उनीहरू महिनौँ लगाएर अछामका जङ्गलहरूमा पुग्छन्। त्यहाँ उनीहरूले सामुदायिक वनहरूलाई पैसा तिरेर भेडाबाख्रा चराउने अनुमति लिन्छन्।
“चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न, गाह्रो हुन्छ। भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो,” स्याम्वु गुरुङले भने। उनका अनुसार अब उनीहरू फागुन–चैतसम्म यिनै तल्लो भेगका वनजङ्गलमा बस्नेछन् र गर्मी सुरु भएपछि पुनः लेकतिर उकालो लाग्नेछन्। रातोपाटी


