दार्चुला — चिसो बढ्न थालेपछि मंसिर सुरुवातदेखि व्यासवासी थातथलो छोडेर बेंसी झर्न थालेका छन् । सौका समुदायको बसाइ रहेको व्यास गाउँपालिका–१ छाङरु र टिंकरका स्थानीय बेंसी (खलंगा) झरिरहेका हुन् । सौका समुदायका मानिसले(रं) भाषा बोल्छन् । विगतदेखि नै गर्मीयामको ६ महिना व्यास गाउँपालिका–१, टिंकर र छाङरु गाउँमा बस्ने सो समुदाय हिउँदको ६ महिना सदरमुकाम खलंगामा बसाइँ सर्छन् । बसाइँसराइ गर्नुलाई सौका समुदायको भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ । हिउँद सुरु भएसँगै चिसो छल्न थातथलोबाट सदरमुकाम खलंगा झर्न लागेको टिंकरका स्थानीय ओमकार टिंकरीले बताए । १ मंसिरबाट यस वर्षको कुञ्चा सर्न सुरु भएको छ । व्यासको सीतापुलबाट भारत छिरेर सदरमुकाम खलंगाको पुलघाटबाट सौका समुदाय नेपाल भित्रिन्छन् । व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँबाट केही परिवार भारतको बाटो हुँदै सदरमुकाम पुगिसकेका छन् ।
परम्परागत रूपमै यो समुदाय चिसो मौसममा बालबच्चा र बस्तुभाउसहित हिमाली भेगबाट बेंसी झर्ने गरेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । छाङरुका एक सय ४० घरधुरीमध्ये ७५ र टिंकरका ७१ घरधुरीमध्ये ३५ परिवार वर्षका दुई सिजन कुञ्चा सर्छन् । यतिबेला प्रायः परिवार झरिसकेका छन् । केही मात्र व्यासबाट तल झर्न बाँकी छ । धेरैजसो परिवार भारतको बाटोबाट बेंसी झरेको र ३ परिवार नेपालको बाटो भएर आइरहेको बोहराले जनाए ।
हिउँदमा बाक्लो हिमपात हुने भएकाले सौका समुदायले प्रत्येक वर्ष जाडोका ६ महिनाका लागि खलंगा झर्ने र गर्मी लागेपछि पुनः छाङरु–टिंकर फर्कने परम्परा छ । बेंसीबाट वैशाखमा हिमाल उक्लेका कुञ्चा चिसो बढेपछि खलंगा झर्न थालेको मोती महिला संघ प्राविका शिक्षक चमकसिंह टिंकरीले बताए । सौकाहरू पशु चौपायासहित बालबच्चालाई बर्सेनि हिमाली क्षेत्र लैजाने र बेंसी झर्ने परम्परा नै रहेको उनको भनाइ छ ।
भारतीय बाटो प्रयोग गर्न अनुमतिपत्र लिनुपर्ने भएकाले सौका समुदायको कुञ्चा सराइ झन्झटिलो हुने व्यास गाउँपालिका–१ टिंकरका मोहनसिंह टिंकरीले बताए । मानिससँगै भारत सरकारबाट पशुचौपायाको अनुमति बनाउनुपर्छ । पशुचौपायाको क्वारेन्टिन जाँचेपछि पशु लैजाने अनुमति मिल्छ । यहाँका सरकारी निकायको सिफारिसका आधारमा भारतीय एसडीएमबाट अनुमतिपत्र स्वीकृत भएपछि स्थानीय सौका समुदाय भारतीय बाटो हुँदै कुञ्चा सार्न पाउँछन् । वैशाखमा सरेको कुञ्चा मंसिरमा बेंसी झर्ने भएकाले मंसिरसम्म पशुचौपाया र मान्छेका लागि आवश्यक रासनसहित बन्दोबस्तीका सबै सामान यहींबाट लैजानुपर्ने बाध्यता यो समुदायमा छ । यहाँबाट व्यास सरेपछि उनीहरू तिब्बतको ताक्लाकोटतिर व्यापार गर्छन् । ताक्लाकोटमा व्यापारका लागि जिल्ला प्रशासन कार्यालयबाट बहुयात्रा अनुमतिपत्र बनाउँछन् ।
सौका समुदायको कुञ्चा भारतको बाटो हुँदै सदरमुकाम आउने भएपछि आफूले भारतको स्थानीय प्रशासनसँग समन्वय र सहयोगका लागि आग्रह गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जनाए । सदरमुकाम खलंगाबाट छाङरु गाउँ ९० किलोमिटर र टिंकर बस्ती एक सयभन्दा बढी किलोमिटरको दूरीमा छन् । यी गाउँमा बोहरा, ऐतवाल, लामा, बुढाथोकी, टिंकरी, कल्याललगायत जातजातिको बसोबास छ । यिनीहरूको सम्बन्ध त्रिदेशीय छ ।
व्यासमा विद्यालय नहुँदा सौका समुदायका मानिसले खलंगा–व्यास दोहोरो बसाइ गर्नुपर्ने बाध्यता छ । पहिला शिशु कक्षादेखि आठ कक्षासम्म व्यासमै विद्यालय थियो । पहिला कुञ्चासँगै विद्यालय पनि व्यासमै सर्ने गर्थ्यो, अहिले विद्यालय सदरमुकामबाट व्यास उक्लँदैनन् । विद्यालय उमेरका बालबच्चा भएको परिवारको व्यास र खलंगामा बसाइ गर्नुपर्ने बाध्यता रहेको सदरमुकाम खलंगामा सञ्चालनमा रहेको कैलाशपति आधारभूत विद्यालय छाङरुका प्रधानाध्यापक अम्बिका ऐतवालले बताइन् । विद्यार्थीहरू थातथलो गाउँ जान रोकिएपछि पछिल्लो समय व्यासका छाङरु र टिंकरका विद्यालय सदरमुकाममै सञ्चालित छन् । २०७२ सालसम्म शिशु कक्षासम्मका विद्यार्थी छाङरु र टिंकर कुञ्चासँगै जान्थे । पछिल्लो समय कुञ्चासँग विद्यार्थी गाउँ जान रोकिएपछि विद्यालयले सदरमुकाममै अध्यापन गरिरहेको प्रधानाध्यापक ऐतवालको भनाइ छ । अहिले व्यास गाउँपालिका–१ छाङरुको कैलाशपति र टिंकर गाउँको मोती महिला संघ आधारभूत विद्यालय सदरमुकाम खलंगामै छन् । यी विद्यालयमा छाङरु र टिंकरका विद्यार्थी थोरै रहेको विद्यालयले जनाएका छन् ।
वर्षको एक खेती
छाङरु र टिंकर गाउँ उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले यहाँ बर्खे खेती मात्र हुन्छ । हिउँदका ६ महिना खेतमा हिउँ जम्ने हुँदा उब्जनी हुँदैन । त्यसैले टिंकर र छाङरुका स्थानीय बर्खाका बेला उवा, नप्पल, फापर र आलुलगायत अन्नबाली लगाउँछन् । वैशाखमा बेंसीबाट हिमाल उक्लेपछि खेती लगाउने र कात्तिकमा भित्र्याएपछि बेंसीका लागि फर्किन्छन् । उब्जनी कम हुने भएकाले ६ महिना हिमाल बस्दा स्थानीय बेंसीबाट अन्नपात लैजान्छन् ।न्यानो मौसममा पनि यहाँको तापक्रम माइनसमा हुने गरेको टिंकरका स्थानीय नारायण टिंकरीले जनाए ।
पैदल बाटो खुल्यो, सडक सञ्जालमा जोडिने पत्तो छैन
छाङरु र टिंकर गाउँ जोड्ने पैदल बाटोअन्तर्गत व्यास गाउँपालिकाको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण गरी व्यास जोड्ने पैदल बाटो खुलेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको ठेक्का सम्झौताअन्तर्गत बाटो निर्माण भएको व्यास गाउँपालिकाले जनाएको छ। गत र चालु आर्थिक वर्षमा मात्रै दुम्लिङ–व्यास जोड्ने सडक निर्माणका लागि संघीय सरकारको साढे ५ करोड र व्यास गाउँपालिकाको ५० लाख बजेट खर्च गरिएको छ । करिब डेढ दशकदेखि पूर्ण रूपमा बन्द भएको व्यास जोड्ने पैदल बाटो निर्माणमा संघीय, प्रदेश र स्थानीय सरकारको करोडौं बजेट खर्च भएको छ । गत आर्थिक वर्षमा संघ र स्थानीय तहको बजेटले दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माणको काम गरी बाटो सञ्चालनमा आएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए ।
नेपालतर्फ गोरेटो बाटो निर्माण तथा मर्मतका लागि बर्सेनि बजेट आए पनि सदुपयोग नभएको उनको भनाइ छ । दुम्लिङदेखि माथि सधैं मर्मत हुने तर एकै वर्षमा त्यो भत्किएर जाने गरेका कारण गोरेटो बाटो सुधार हुन नसकेको उनले जनाए । नगेन्द्रप्रसाद रिजाल सहायक राज्यमन्त्री र व्यास छाङरुका स्थानीय बहादुरसिंह ऐतवाल राज्यमन्त्री भएका बेला व्यास जोड्ने घोडेटो बाटो निर्माण गरिएको थियो । उक्त समयदेखि ६० को दशकसम्म व्यासको घोडेटो बाटो चलेको स्थानीय वासुदेव ऐतवालले बताए । नेपालतर्फ राम्रो बाटो भएको समय २०४०र४५ सालमा भारतीय नागरिक पनि व्यासमा कुञ्चा सर्दा यतैको बाटो प्रयोग गर्थे ।
गुञ्जी, नावी र कुटी तथा कैलाश मानसरोवर दर्शन गर्न जाने यात्री र व्यापारीले समेत नेपालकै बाटो प्रयोग गर्थे । नेपालतिर महाकाली नदी किनारैकिनार घोडेटो बाटो थियो । चीनको ताक्लाकोटसँग सीधा व्यापार सम्पर्क थियो । नेपालमा सशस्त्र द्वन्द्वका बेला नेपालीले पनि भारतीय बाटो प्रयोग गर्न थालेपछि मर्मतमा ध्यान नदिँदा क्रमशः भत्किन सुरु भएको स्थानीयको भनाइ छ ।
दार्चुला सदरमुकाम खलंगाबाट टिंकर नाकासम्म सडक जोड्ने उद्देश्यले २०६५/६६ देखि निर्माण सुरु भरिएको सडक कछुवा गतिमा निर्माण भइरहेको छ । सुरुमा दार्चुला सदरमुकामबाट टिंकरसम्मको दार्चुला–टिंकर सडक योजनालाई पछिल्लो समय महाकाली करिडोरमा गाभिएको छ । अहिले पनि दुई खण्डमा सडकको निर्माण चलेको छ । कञ्चनपुरदेखि टिंकर नाकासम्मको ४ सय २५ किमि सडकमध्ये ८९ किलोमिटर नेपाली सेनाले माथिल्लो कोठेधार–टिंकर सडक खण्डमा काम गरिरहेको छ । बाँकी क्षेत्रमा महाकाली करिडोर सडक आयोजनाले निर्माण गर्दै छ । तर सडक कहिले बनिसक्ने हो, टुंगो छैन ।कान्तिपुरबाट


