धनगढी: धनबहादुर महता (विकास सिंह महता), सुदूरपश्चिमेली समाजका लागि एउटा प्रेरणादायी नाम हो । उनले आफ्नो जीवनमा थुप्रै कठिनाइहरू सामना गरे तापनि कहिल्यै हार मानेनन् । उनी साधारण गाउँमा जन्मेका थिए, जहाँ शिक्षा, स्वास्थ्य सेवा र आर्थिक अवसरहरूको सीमितता थियो । बाल्यकालदेखि नै उनले आर्थिक अभाव, पारिवारिक समस्याहरू र समाजका विभिन्न चुनौतीहरूसँग जुध्नुप¥यो । यति मात्र नभई शारीरिक अपाङ्गता जस्तो गम्भीर अवरोधका बाबजुद उनले आफ्नो पहिचान बनाउन दृढ सङ्कल्प गरेका थिए । धनबहादुरको सङ्घर्षको यात्रा सानो उमेरदेखि नै सुरु भयो । गरिबीका कारण उनको बाल्यकाल कष्टपूर्ण रह्यो । विद्यालय जानका लागि लामो दुरी हिँड्नु, अध्ययन सामग्री जुटाउन कठिनाइ भोग्नु र समाजका नकारात्मक धारणाहरूसँग जुध्नु उनका लागि सामान्य कुरा थिए । तथापि, उनले यी सबै समस्याहरूलाई आफ्नो सफलताको खुड्किलो बनाउने सोच राखे ।
खेलकुदमा बाल्यकालदेखि नै रुचि राख्ने धनबहादुर अपाङ्गताको कारणले कुनै बेला निराश भएका थिए । तर, उनले आफ्नो कमजोरीलाई शक्तिमा परिवर्तन गर्न सफल भए । अपाङ्गताका बाबजुद पनि खेलकुदमा सहभागी भएर उनले जिल्लास्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता प्राप्त गरे । उनको अथक मेहनत र समर्पणका कारण उनले खेलाडीका रूपमा आफूलाई स्थापित गरे । खेलकुदको क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उनी प्रयत्नशील छन् । खेलकुदसँगै धनबहादुर पत्रकारितामा पनि उत्तिकै अब्बल छन् । समाजका उपेक्षित तथा पछाडि परेका समुदायहरूको आवाज बुलन्द गर्न उनले पत्रकारितालाई एक प्रभावकारी माध्यमका रूपमा उपयोग गरे । अपाङ्गता भएका व्यक्तिहरूका समस्याहरू, खेलकुद क्षेत्रमा देखिएका चुनौतीहरू तथा समाजका विभिन्न मुद्दाहरूमा कलम चलाएर उनले न्यायका पक्षमा आवाज उठाए । उनको लेखनीले थुप्रै सामाजिक परिवर्तनका लहरहरू ल्याउन मद्दत गरेको छ ।
धनबहादुर महतको जीवन सन्देश के हो भने, सङ्घर्ष नै सफलताको पहिलो खुड्किलो हो । जस्तोसुकै कठिन परिस्थिति आए पनि आत्मबल, दृढ सङ्कल्प र निरन्तर मेहनतले सफलता प्राप्त गर्न सकिन्छ । उनले समाजलाई देखाइदिएका छन् कि, अपाङ्गता कुनै कमजोरी होइन, बरु त्यो आत्मविश्वास र दृढ इच्छाशक्तिले जित्न सकिने चुनौती मात्र हो ।
बाल्यकाल र पारिवारिक अवस्था
वि.सं. २०४९ माघ १० गते, धनबहादुर महतको जन्म कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं. १ (साबिक बेलडाँडी गाविस वडा नं. ९, लल्लरेडाँडा) मा भएको थियो । बुवा लाल बहादुर महत र आमा जौलादेवी महतका दोस्रो सन्तानका रुपमा जन्मिएका धनबहादुरको बाल्यकाल ग्रामीण परिवेशमा बित्यो, जहाँ शिक्षा, स्वास्थ्य र आधारभूत सुविधाहरूको अभाव थियो । परिवार साधारण कृषिमा निर्भर थियो । तर आयस्रोत सीमित भएकाले जीवन सहज थिएन । वि.सं. २०५८ मा सङ्कटकालको समयमा सरकारले उनीहरूको कमाइ खाने जमिन हडप्यो । यो घटनाले उनको परिवारलाई गहिरो आर्थिक सङ्कटमा पा¥यो । जमिन गुमाउनु केवल भौतिक सम्पत्तिको क्षति मात्र थिएन, यो त उनीहरूको जीविकोपार्जनको आधार नै गुम्नु थियो । परिवारका लागि यो क्षति सहन कठिन भयो, किनभने उनीहरूको आर्थिक अवस्था झन् दयनीय बन्दै गयो ।
यस घटनापछि परिवारका सदस्यहरू जीविकोपार्जनका लागि भारत जान बाध्य भए । उनका बुबा रोजगारीको खोजीमा भारत लागे । तर घरमा आमा र हजुरआमाले सङ्घर्ष गर्दै परिवार चलाइरहनु परेको थियो । बाल्यकालमै धनबहादुरले आर्थिक अभावको गहिरो पीडा महसुस गरे । सानै उमेरमा बाबुको अभाव, घरको कमजोर आर्थिक अवस्था र भविष्यप्रतिको अन्योलले उनको मनोवैज्ञानिक तथा भावनात्मक विकासमा ठूलो असर पा¥यो । आर्थिक सङ्कटका कारण शिक्षामा निरन्तरता दिन पनि कठिन भयो । विद्यालय जानका लागि आवश्यक सामग्री किन्ने हैसियत थिएन । कहिलेकाहीँ खाना नपुग्ने अवस्थासमेत आइपथ्र्यो । सानै उमेरमा गरिबी र सङ्घर्षको तीतो यथार्थ भोग्नु परे पनि उनले पढाइप्रति रुचि कहिल्यै घट्न दिएनन् । परिवारका सदस्यहरूको दुःख देख्दा उनी सानैदेखि दृढ संकल्पित बने । सङ्घर्षलाई अवसरमा बदल्ने अठोट गरे ।
धनबहादुरको बाल्यकाल कष्टपूर्ण रह्यो । तर यसले नै उनलाई जीवनका चुनौतीहरू सामना गर्ने क्षमता प्रदान ग¥यो । गरिबी, अभाव र सङ्घर्षले उनलाई कमजोर बनाउनुको साटो झन् बलियो बनायो । उनकै बाल्यकालका कठिनाइहरूले नै उनलाई जीवनमा अगाडि बढ्न प्रेरित ग¥यो । जसका कारण उनी अहिले सफल खेलाडी र पत्रकार बन्न सकेका छन् ।
जिन्दगी बदल्ने दुर्घटना : एउटा कठोर मोड ।।
वि.सं. २०५९ सालको भदौ महिनामा धनबहादुर महतको जीवनले एक अप्रत्याशित र गहिरो मोड लियो । त्यो दिन उनले बाल्यकालको सबैभन्दा ठूलो दुर्घटनाको सामना गरे । जसले उनको सम्पूर्ण भविष्यलाई नै प्रभावित ग¥यो । त्यस दिन दिउँसो २÷३ बजेको समयमा उनी माछा मार्ने बल्छिको काँटा किन्न भनेर घरबाट हजुरआमासँग २ रुपैयाँ मागेर कालिका स्कुल नजिकै रहेको नहर तिर लागे । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष) नजिक नहर छेउमा रहेको सालको रुखमा हमाली सिरुको डोरी हालेको थियो । उनी आफ्ना साथीहरूसँग खेल्न थाले । एकाएक उनको हात त्यो हमालीबाट छुट्न पुग्यो । उनी जमिनमा नराम्रोसँग बजारिन पुगे । दुर्भाग्यवश, उनको बायाँ हात नराम्रोसँग मोडियो र भाँचियो । घाउ यति गहिरो थियो कि हड्डी छाला चिर्दै बाहिर निस्किएको थियो । चोट लाग्ने बित्तिकै उनी असह्य पीडाले छटपटाउन थाले । वरपरका साथीहरू आतङ्कित भए ।
उनको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । जसका कारण तुरुन्तै उचित उपचार सम्भव भएन । गाउँमा प्राथमिक उपचार गरे पनि उनको घाउ दिनप्रतिदिन बिग्रँदै गयो । गाउँका स्वास्थ्य चौकीमा उपचारको कुनै उपाय थिएन । त्यसैले उनलाई महेन्द्रनगर गड्डाचौकी बनबासा हुँदै भारतको नयाँ दिल्ली लैजानुपर्ने निर्णय भयो । कठिन यात्रा पश्चात् उनलाई दिल्लीको सादरामा रहेको गुरु टेक बहादुर अस्पतालमा भर्ना गरियो । अस्पताल पुगेपछि चिकित्सकहरूले उनको हातको अवस्था गम्भीर रहेको बताए । सङ्क्रमण फैलँदै गएकाले यदि हात तुरुन्तै नकटाइएमा ज्यान नै जोखिममा पर्न सक्ने थियो । डाक्टरहरूको यो निर्णय सुन्दा परिवारका सबै सदस्यहरू स्तब्ध भए । विशेष गरी उनका बुबाका लागि यो खबर असह्य बन्यो । धनबहादुरका बुबा आफैँ अपाङ्ग थिए । र उनले छोराले पनि त्यस्तै पीडा भोग्नुपर्छ भन्ने कल्पना गर्न सकिरहेका थिएनन् । भावुक हुँदै उनले डाक्टरहरूसँग बिन्ती गरे, “यदि मेरो छोराको हात काट्नुपर्छ भने बरु मारिदिनुहोस्, तर अपाङ्ग बनाएर छाड्न सक्दिनँ ।” उनका बुबाका ती शब्दहरूले त्यहाँ उपस्थित सबैको मन छोयो । तर परिस्थितिले अर्कै बाटो लियो । परिवारका सदस्यहरूले निकै सम्झाएपछि बुबा बिस्तारै सहमत भए । किनभने यो अप्रेसन नगरे धनबहादुरको जीवन नै सङ्कटमा पर्न सक्थ्यो । अन्ततः चिकित्सकहरूले शल्यक्रिया गरेर उनको बायाँ हात काटे ।
सङ्घर्षको अर्को अध्याय : पुनः स्थापनाको कठिन बाटो ।।
अप्रेसनपछि अस्पतालमा बितेका दिनहरू धनबहादुरका लागि मानसिक र शारीरिक रूपमा कठिनतम साबित भए । अचानक आफ्नो एउटा हात गुमाउनुको पीडा असह्य थियो । उनले आफैँलाई निःसहाय महसुस गर्न थाले । जीवनमा के गर्ने भन्ने अन्योलमा परे । सानो उमेरमै ठूलो दुर्घटनाले उनलाई भतभती पोलिरहेको थियो । यस कठिन घडीमा, उनको उपचारको सम्पूर्ण खर्च उनका काकाले जुटाएका थिए । दिल्लीमा रिक्सा चलाएर उनले आवश्यक रकम सङ्कलन गरे । त्यो समयमा मोबाइल फोनजस्ता साधन थिएनन् । जसले गर्दा सम्पर्क गर्न कठिन थियो । भारतमा उपचारका लागि पुगेका परिवारका सदस्यहरू घरसँग जोडिन सकिरहेका थिएनन् । आर्थिक अभाव, मानसिक तनाव र अपाङ्गताको नयाँ चुनौतीहरूसँग जुध्दै उनले अस्पतालमा लामो समय बिताए ।
धनबहादुरका लागि यो दुर्घटना जीवनको अन्त्य जस्तो लागे पनि, भविष्यले उनलाई अरू धेरै कठिनाइ पार गर्न अभिप्रेरित गरिरहेको थियो । अस्पतालको बेडमा पल्टेर उनले आफैँसँग धेरै प्रश्न गरे, “अब मेरो जीवन कस्तो हुनेछ ? म अरू जस्तै सामान्य जीवन जिउन सकुँला ?” यी प्रश्नहरू उनका मनमा घुमिरहे, तर उत्तर भने समयसँगै खुलेर आउने थियो । शारीरिक अपाङ्गता समेत खेप्दै आउनु भएका धनबहादुरका बुवा लालबहादुरको दमको बिरामीका कारण ५० वर्षकै अल्पायुमा २०७६ माघ १५ देहावसान भयो । यस घटनाले उनको परिवारमा अपुरणीय क्षति हुन गयो ।
नयाँ अध्यायको सुरुवात ।।
यो दुर्घटनाले धनबहादुरलाई शारीरिक रूपमा कमजोर बनाए पनि मानसिक रूपमा भने बिस्तारै बलियो बनायो । जीवनले दिएको यो कठिन परीक्षालाई उनले आफ्नो यात्रा रोक्ने कारण बन्न दिएनन् । अपाङ्गता एउटा अवरोध मात्र हो, जुन आत्मबलले जित्न सकिन्छ भन्ने सोच राख्दै उनले जीवनलाई नयाँ ढङ्गले हेर्न थाले । यो दुर्घटना उनको लागि दुःखद मोड मात्र नभई एक नयाँ सङ्घर्षको सुरुवात थियो, सङ्घर्ष आफूलाई नयाँ रूपमा चिनाउने, सङ्घर्ष समाजका लागि केही गर्ने र सङ्घर्ष आफूलाई कहिल्यै कमजोर नसम्झिने !
शिक्षा र प्रारम्भिक संघर्षहरू ।।
वि.सं. २०५५, ५६ तिर शिक्षारम्भ गरेका धनबहादुरले अस्पतालबाट फर्किपछि २०६० मा पुनः कालिका प्राथमिक विद्यालयमा भर्ना भई आफ्नो अध्ययनलाई निरन्तरता दिए । कक्षा ५ सम्म उनले सोही विद्यालयमा अध्ययन गरे । त्यसपछि कक्षा ६ देखि १२ सम्मको अध्ययनका लागि उनी रौलेश्वर माध्यमिक विद्यालयमा भर्ना भए । वि.सं. २०६७ मा उनले एसएलसी परीक्षा उत्तीर्ण गरे । त्यसपछि उनले ११ र १२ कक्षा पास गर्दै उच्च शिक्षा हासिल गर्ने सपना देखे । प्रारम्भमा खेलकुदप्रति बढी रुचि भएकाले अध्ययनभन्दा खेलमा उनको ध्यान बढी थियो । तर उनले दुबै क्षेत्रलाई सन्तुलित रूपमा अघि बढाउने निर्णय गरे ।
उच्च शिक्षा र पत्रकारितामा प्रवेश ।।
वि.सं. २०७३ मा उनले सुदूरपश्चिम विश्वविद्यालयमा मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत पत्रकारिता र ग्रामीण विकास विषय लिएर स्नातक तहमा अध्ययन सुरु गरे । पढाइसँगै पत्रकारितामा पनि रुचि राखेका उनले पत्रकारिताका उप–प्राध्यापक उमाकान्त जोशीबाट प्ररित भएर पत्रकारिता अध्ययनरत विद्यार्थी उनी सम्मेलितले सुदूर दर्पण दैनिक स्थापन २०७३ मा स्थापना गरि आफ्नो पत्रकारिता यात्रा सुरु गरे । उनले खेलकुद पत्रकारितालाई प्राथमिकता दिँदै विभिन्न खेलकुद समाचार लेख्न थाले । ९ जना साथीहरूसँग मिलेर भास्कर के.सी. प्रकाशक सम्पादक रहेको पत्रिका सञ्चालन गरि सहकार्य गरे । धनबहादुर महत पत्रकारिता क्षेत्रमा विकास सिंह महताको नामले परिचित छन् ।
खेलकुद यात्रा र सफलता ।।
खेलकुदप्रति सानैदेखि रुचि राख्ने धनबहादुरले आफ्नो अपाङ्गतालाई कहिल्यै बाधा बन्न दिएनन् । उनले फुटबल, क्रिकेट, एथलेटिक्स, साइक्लिङ र बुदो कैदो फुलकन्टेक्ट करातेजस्ता विभिन्न खेलहरू खेले । फुटबलमा उनको विशेष रुचि छ । उनी कञ्चनपुर जिल्ला फुटबल संघको खेलाडी भए ।
खेलकुद क्षेत्रमा उनले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू :
बुदो कैदो फुलकन्टेक्ट कराते क्षेत्रीय प्रतियोगितामा साहसी खेलाडीको उपाधी
कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता : लगातार ३ पटक उपविजेता,
२०७६ सालको जिल्ला लिग फुटबल प्रतियोगिता : च्याम्पियन टिमका कप्तान,
२०७७ सालको विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिम विश्वविद्यालय टोलीबाट छनोट,
एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता (२०७९) : दशरथ रङ्गशालामा पदक विजेता,
२०७९ मा एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता : च्याम्पियन टिमका सदस्य तथा उत्कृष्ट गोलरक्षक घोषित,
बङ्गलादेशमा अहिले भइरहेको अन्तर्राष्ट्रिय एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा छनोट भई सहभागी,
यी त मुख्य उपलब्धि मात्रै हुन् । यी बाहेक पचासौँ खेलकुदमा उपलब्धिपूर्ण प्रतिफल उनले हात पारेका छन् । यो यात्रामा उनी अनवत् रूपमा लागिनै रहेका छन् ।
सामाजिक सेवा र पत्रकारिता क्षेत्रको योगदान ।।
धनबहादुर महत अहिले नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाको दोस्रो कार्यकालका लागि सदस्य रहेका छन् । साथै कञ्चनपुर जिल्ला फुटबल संघको मिडिया संयोजक तथा कञ्चनपुर जिल्ला खेलकुद समिति सदस्य समेत हुन् । अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि उनले विभिन्न अभियानहरू चलाएका छन् ।
परिवारको भूमिका र प्रेरणा ।।
धनबहादुर महतको सफलतामा उनको परिवारको ठूलो भूमिका रहेको छ । उनका दाजु पदमबहादुर महत, जो वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्, उनको मुख्य आर्थिक सहारा बनेका छन् । दाजुको सहयोग र परिवारको माया नै उनको सङ्घर्षलाई अघि बढाउने प्रमुख शक्ति बनेको छ ।
चुनौतीहरू र आगामी लक्ष्यहरू ।।
हालसम्म धनबहादुरले प्रायः आफ्नै खर्चमा खेलकुद प्रतियोगिताहरू खेलेका छन् । अपाङ्गता भएका खेलाडीहरूको लागि नेपाल सरकारको लगानी निकै न्यून छ । जसका कारण उनीहरूले आर्थिक कठिनाइ झेल्नुपर्छ । उनले भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने लक्ष्य राखेका छन् । बङ्गलादेशमा जारी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उनले स्वयम् हवाई टिकट र अन्य खर्च बेहोरेका छन् । सरकार तथा अन्य दातृ निकायहरूबाट थप सहयोग भयो भने धनबहादुर निक्कै अगाडि बढ्न सक्छन् । त्यो क्षमता उनमा देखिन्छ ।
निष्कर्ष :
धनबहादुर महतको जीवन सङ्घर्ष, साहस र सफलता प्राप्तिको उत्कृष्ट उदाहरण हो । उनले जीवनमा भोगेका कठिनाइहरूले उनलाई कहिल्यै रोक्न सकेनन् । आफ्नो अपाङ्गतालाई आत्मबलका रूपमा लिँदै उनले खेलकुद, पत्रकारिता र सामाजिक सेवामा असाधारण योगदान दिएका छन् । कुनै दिन अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने सपना बोकेका उनी भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्नेमा कुनै शङ्का छैन । उनीजस्ता व्यक्तिहरू समाजका लागि प्रेरणाको स्रोत हुन्, जसले असम्भवलाई सम्भव बनाउन सक्छन् ।


