धनगढी । प्रहरीले राती १० बजे नै होटल बन्द गराउँदा व्यवसाय गर्न समस्या हुने गरेको होटल व्यवसायीहरुले गुनासो गर्दै आएका छन । गर्मी समयमा साढे ७ बजे रात पर्ने भएकाले १० बजे खाना खान नपाउँदै १० बजे प्रहरीले होटल बन्द गराउँदा हैरानी खेप्नु परेको होटल व्यवसायीहरुले गुनासो गरेका हुन । होटल व्यवसायी महासंघकी केन्द्रिय उपाध्यक्ष धना चोखालले बसपार्क क्षेत्रमा पनि १० बजे होटल बन्द गराउदा व्यापार गर्न समस्या हुने गरेको बताइन् । उनले १० बजे होटल बन्द गरिदा राती १० बजे पछि खाना खाने ग्राहकलाई तातो खाना दिन समेत समस्या हुने गरेको बताइन् ।
‘केही होटल क्षेत्रमा पनि गलत मान्छे होलान तर, तिनीहरुले गर्दा सबैलाई एउटै टोकरीमा राख्नु भएन’ बुधबार इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दलाई स्वागत गर्न होटल व्यवसायी संघ गोदावरीले आयोजना गरेका कार्यक्रममा बोल्दै उनले भनीन् ‘बसपार्क नजिकको होटलमा बिहानै ५ बजे ग्राहकहरुले चिया नास्ता खोज्छन । त्यसका लागि हामीले साँझ नै सबै तयारी गर्नु पर्ने हुन्छ । तर, राती छिटै बन्द गराउँदा बिहान समस्या हुन्छ ।
गोदावरी होटल व्यवसायी संघका महासचिव रवीन्द्र खड्का प्रहरीले राती १० बज्ने बित्तिकै बलजप्ती गरेर होटल बन्द गर्ने गरेको बताए । उनले प्रहरीले धम्की पूर्ण शैलीमा होटल बन्द गराउँदा आफूहरू मारमा पर्ने गरेको बताए ।
होटल व्यवसायी संघ गोदावरीका अध्यक्ष लक्ष्मण बहादुर धामीले केही गलत गर्ने होटलका कारण समग्र क्षेत्रको बदनाम भएको बताउँदै नराम्रा होटललाई बन्दै हुने तरिकाले अगाडि बढ्नुपर्ने बताए । उनले अनैतिक क्रियाकलाप गर्ने १०४ जना पक्राउ गरिएको भएपनि ति सबै २÷४ दिन लगेर थुन्ने र छोड्ने गरिदा समस्या ज्युँ का त्युँ रहेको बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले होटल भोक लागेको बेला रात भरी खोल्ने व्यवस्था मिलाउने बताए । ‘होटल १० बजे सम्म खोल्ने भनिएको छ । तर, होटल रातभर पनि खोल्न सकिन्छ । त्यसको लागि मापदण्ड विषयमा हामीले सोच्नुपर्ने हुन्छ’ उनले भने ‘१० बजेपछि खोल्ने कुरामा जिल्ला प्रशासन कार्यालय सँग पनि समन्वयन गर्नुपर्ला तर, मेरो तर्फबाट म १०, साढे १० मात्रै होइन भोक लागेको बेला रात भरी खोल्न पाउने व्यवस्था म मिलाउँछु ।’
उनले प्रहरी प्रशासन व्यवसायीको तगारो नभईकन सहयात्री भएको बताए । ‘म कैलालीकै बासिन्दा पनि हो । मेरो व्यवसायीक जिम्मेवारी सँगै सामाजिक दायित्व पनि छ । मैले व्यवसायलाई कसरी सपोर्ट गर्नुपर्छ भन्ने कुरा मेरो पेसाले, मर्यादाले दिने कुराहरूमा सपोर्ट गर्नेछु ।
उनले होटलमा आउने सबै होटलका लागि पाहुना भए पनि ती व्यक्तिको होटलले परिचय पत्र खुल्ने कागजात राखेर मात्रै कोठा दिनुपर्ने बताए ।