काठमाण्डौ – दुई वर्षअघिसम्म सिजनको बेला दैनिक २र४ जना मात्रै दार्चुलाको अपी हिमालको ट्रेकिङमा जान्थे । बाटोमा बस्ने र खानेकुराको सुविधा थिएन । अपी बेस क्याम्पका तस्वीर र भिडियोले धेरैलाई लोभ्याउँथ्यो, तर जानको लागि न बाटो थियो, न त खानेबस्ने सुविधा नै । अहिले भने अवस्था फेरिएको छ । अपी हिमाल गाउँपालिकाको दुई वर्षदेखिको मेहनतले गर्दा अपी बेस क्याम्पको ट्रेकिङ रुटमा चहलपहल बढेको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्लाको यो ट्रेकिङ रुटमा अहिले त दैनिक ४० जनाका दरले पर्यटक पुग्न थालेका छन् । पर्यटकलाई बस्न खान समस्या छैन, सुरक्षाको चिन्ता छैन । मज्जाले घुमफिर भइरहेको छ ।
हाम्रो अपेक्षाभन्दा धेरै पर्यटक आइरहेका छन् : अध्यक्ष ठेकरे
अपीहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा अथक मेहनतपछि बल्ल अपी हिमाललाई सुदूरपश्चिम मात्रै नभएर नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने बाटोमा सफलता मिल्न थालेको बताउनुहुन्छ । ‘हामीले दुई वर्षअघिदेखि अपीसम्म पुग्ने पदमार्ग बनाउन थालेका थियौँ, धौलीओडार, छिरछिरे, खायखोट लगायतका ठाउँमा पर्यटक विश्राम गृह र होटल खोल्यौँ, पर्यटक सूचना बोर्डहरु राख्यौँ यसले गर्दा केही पर्यटक बढ्न थाले’ उहाँले भन्नुभयो, ‘गएको वर्ष हामीले अपी हिमाल भ्रमण वर्ष मनायौँ, अहिले त पर्यटक ओइरिएका छन् ।’ यति छिटै यति धेरै पर्यटक आउलान भनेर आफूहरुले कल्पना पनि नगरेको अध्यक्षको भनाइ छ । ‘हामीले प्रयास गरिरहेका थियौँ तर, यति छिटै यति धेरै पर्यटक आउलान भनेर हामीले सोचेका पनि थिएनौँ, यसलाई हामीले मेहनतको फलका रूपमा लिएका छौँ’ उहाँले भन्नुभयो ।
गाउँपालिकाले अपी ट्रेकिङ रुटमा पर्यटक तान्नको लागि पर्यटन विभागसँगको सहकार्यमा २२ किलोमिटरभन्दा धेरै ठाउँमा व्यवस्थित र सहज पदमार्ग बनाएको छ । सितीभन्दा माथि बेस क्याम्पसम्म नै व्यवस्थित पदमार्ग देख्न सकिन्छ । घुसाको भीरमा पनि पदमार्ग बनाउने काम भइरहेको छ । चाँडै नै अपी हिमाल ट्रेकिङ रुटको गुरुयोजना पारित गरेर थप संरचना बनाउने योजनामा रहेको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिँह ठेकरे बोहराको भनाइ छ । ट्रेकिङ रुटमा बाटो, साइनबोर्ड, पुल, विश्राम गृह लगायतका संरचना बनेका छन् । कतै बनिरहेका छन् । अहिले पनि सुदूरपश्चिमका अरू कुनै पनि ठाउँकोभन्दा अपी हिमाल ट्रेकिङ रुटको बाटो र संरचना उत्कृष्ट रहेको ठेकरेको दाबी छ । अब यसलाई सुदूरपश्चिम मात्रै नभई देशकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यमा आफूहरु अघि बढेको पनि अध्यक्ष बोहराले बताउनुभयो ।
स्थानीयवासी मालामाल
पर्यटक बढ्न थालेपछि रुट वरपरका गाउँलेले विभिन्न अवसर पाउन थालेका छन् भने आम्दानी बढिरहेको छ । अपी हिमाल गाउँपालिका–१ सीतीमा होमस्टे चलाउने देवेन्द्र जाग्रीलाई अहिले भ्याइनभ्याइ छ । आफ्नै बारीमा उब्जाएका अन्न पकाएर दिँदा एकातिर पर्यटक खुशी छन्, अर्कोतिर आफ्नो आम्दानी बढिरहेको छ । ‘दुई वर्ष अघिसम्म यहाँ सुनसान थियो, अहिले त निकै धेरै पर्यटक आइरहेका छन्, हामीलाई भ्याईनभ्याइ छ’, जाग्रीले भन्नुभयो, ‘आफ्नै बारीमा उब्जाएको कोदो, मकै सागपात, आफैंले पालेका गाई भैँसीको दुध, दही, मोही र घिउ पर्यटकलाई खुवाउने गरेको छु, यसबाट मेरो उत्पादन पनि बिक्री भयो, पर्यटक पनि खुशी हुने गरेका छन् ।’ पहिले खेर जाने काँक्रो, कागती, अमिलो, मुला लगायत पनि ट्रेकिङमा जानेहरुले नै किनेर खाने गरेको देवेन्द्र जाग्रीको भनाइ छ । पर्यटक बढ्दा कतिपयले पर्यटकलाई गाइड गरेर अनि कतिपयले भारी बोकेरसमेत आम्दानी गरिरहेका छन् ।
पर्यटक भन्छन् स् अरू ठाउँभन्दा अपी बेस क्याम्पको आनन्द बेग्लै छ
घुम्ने बानी लागेका नेपालीहरुले अहिले नजिकरटाढा, सजिलोरअफ्ठेरो हेर्न छाडेका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आकर्षक गन्तव्य देखेपछि घुम्न निस्किइहाल्छन् । कैलाली घर भइ अहिले काठमाण्डौमा बसेर प्राध्यापन गर्ने रामचन्द्र भट्टलाई पनि अपीको सुन्दरताले मोहनी लगायो, उतै डोहोर्यायो । ‘गएको वर्ष म अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङमा गएको थिएँ, मलाई अब निकै कम मान्छे गइरहेको गन्तव्यमा जान रहर थियो । साथीहरुसँग सल्लाह गरेर अपी हिमालको ट्रेकिङमा गयौँ, यो ठाउँ निकै सुन्दर छ’ भट्टले भन्नुभयो । चमेलिया नदीको तिरैतिर सुन्दर गाउँ हेर्दै, झरना नियाल्दै अनि जङ्गलको बीचबाट हिंड्नुको मज्जा नै बेग्लै रहेको रामचन्द्र भट्टको अनुभव छ । मानिसको भीडभाड नहुने, प्रसस्तै प्राकृतिक सुन्दरता, न्यानो आतिथ्यता र उत्कृष्ट गन्तव्यको लागि अपी हिमाल ट्रेकिङ नै उपयुक्त हुने उहाँले बताउनुभयो ।
कसरी पुग्ने त अपी बेस क्याम्प ?
काठमाण्डौबाट जहाज र गाडीमा धनगढी वा अत्तरियासम्म सजिलै पुग्न सकिन्छ । धनगढी र अत्तरियाबाट दार्चुलाको गोकुलेश्वरसम्म सार्वजनिक बस पाइन्छ । झन्डै १२ घण्टाको बस यात्रामा कैलाली, डोटी, डँडेलधुरा र बैतडी जिल्ला पार गर्नुपर्छ । गोकुलेश्वरबाट मकरीगाडसम्मको कच्ची बाटोमा जीप चल्छन् । झन्डै तीन घण्टाको कच्ची बाटोको यात्रापछि मकरीगाड पुगिन्छ । मकरीगाडबाट पैदलयात्रा शुरु हुन्छ । मकरीगाडबाट घुसा, नाली, आरुखोड, सिती, खायकोट, सिमार, दमोल, धौलीओडार हुँदै बेस क्याम्पसम्म पुग्न सकिन्छ । अलि फटाफट हिँड्ने मानिस मकरीगाडबाट दुई दिनमै बेस क्याम्प पुग्छन् भने बिस्तारै हिंड्नेहरु तीन दिनमा बेसक्याम्प पुग्छन् । बाटोमा खान र बस्नको लागि ठाउँ–ठाउँमा होटल र विश्राम गृहहरु रहेका छन् ।
बेस क्याम्पभन्दा दुई घण्टा माथिको दूरीमा कालीढुङ्गा ताल रहेको छ । हिमालै हिमालको बीचमा रहेको ताल निकै आकर्षक छ । बेस क्याम्प पुग्नेमध्ये धेरैजसो कालीढुङ्गा तालमा पनि पुग्छन् ।उज्यालोअनलाइनबाट