कीर्तिपुर नगरपालिका-१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अछाम बिरपद गाउँपालिका १ का २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार १ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथली गाउँपालिका ७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना ५ का २१ वर्षीय सुदीप गिरी, अछाम रामारोसन ७ का २३ वर्षीय नवीन भन्ने नृप भण्डारी, वैतडी पुरचौडी १ का २७ वर्षीय जयन्त धानुक, कैलाली गैरीगङ्गा ५ का २० वर्षीय तेज थापा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र खाती तथा बझाङ थलगाका २१ वर्षीय सुनिल रोकाया रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उहाँले भन्नुभयो, “यही जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा दुई समूहबिच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो । पक्राउ परेकामाथि काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।