धनगढी: अपराध अनुसन्धानदेखि सुरक्षा व्यवस्थापनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेपाल प्रहरीका तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको छ ।
आइतबार कुकुर तिहारको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीस्थित केनाइन शाखामा विशेष पूजा कार्यक्रम आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० सानुराम भट्टराईले तालिमप्राप्त कुकुरहरूलाई माला र टीका लगाएर पूजा गर्नुका साथै प्रसाद प्रदान गरेका थिए ।
कार्यक्रममा डीआईजी भट्टराईले प्रहरी कार्यमा तालिमप्राप्त कुकुरहरूको योगदान महत्त्वपूर्ण रहेको बताए । अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम तथा विभिन्न प्रहरी कारबाहीमा उनीहरूले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै भट्टराईले कुकुरहरूको कार्यकुशलता र समर्पणको प्रशंसा गरे ।
प्रहरीले अपराध अनुसन्धान तथा अन्य सुरक्षा गतिविधिमा तालिमप्राप्त कुकुरको सहयोग लिँदै आएको छ । कुकुर तिहारमा उनीहरूको योगदानको सम्मान गर्दै पूजा गर्ने परम्पराअनुसार प्रदेश प्रहरी कार्यालयमा पनि कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशकी अध्यक्ष मुना भट्टराई, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।


