धनगढी: सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले अदालतको अन्तिम फैसला नआएसम्म नेपाली कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला अधिवेशनको तयारी तथा समसामयिक विषयमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिक नेतृत्वका विषयमा कसैलाई पनि द्विविधा वा भ्रममा नपर्न आग्रह गरे । ‘हामी स्पष्ट रूपमा पार्टीका आधिकारिक सभापति शेरबहादुर देउवाको पक्षमा छौँ’, निवर्तमान मुख्यमन्त्री शाहले भने, ‘हामी निष्पक्ष रूपमा एक ठाउँमा छौँ र सङ्गठित छौँ ।’
नेता शाहले कैलाली जिल्ला अधिवेशनलाई एकता र सहमतिको अधिवेशनका रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। अधिवेशन नेतृत्व चयनमा मात्रै सीमित नभई पार्टीको विचार, दृष्टिकोण, कार्यकर्ताको भावना र जनताको ठोस आधार समेट्ने दस्तावेजसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो । जिल्ला संयोजक खेम डगौरा थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, कैलाली जिल्ला सभापति, कार्यवाहक सभापति, क्षेत्रीय तथा नगर सभापति र जिल्ला, क्षेत्र एवं नगर तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा भएको छलफलले नेपाली कांग्रेस देउवा समूहको कैलालीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते धनगढीमा गर्ने निर्णयसमेत गरेको छ ।


