धजगढी । कैलालीमा विगत पाँच महिनादेखि बन्द गरिएको गोलिया काठ तथा दाउराको संकलन, बिक्री वितरण र ओसारपसार तत्काल खुला गर्न वनपैदावार व्यवसायीले माग गरेका छन् ।
पर्यावरण संरक्षण एवं वनपैदावार व्यवसायी संघ कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै लामो समयदेखि काठ तथा दाउराको कारोबारमा लगाइएको प्रतिबन्धले व्यवसायी,उपभोक्ता र सरकार सबैलाई नोक्सानी भइरहेको भन्दै प्रतिबन्ध तत्काल हटाउन माग गरेको हो ।
संघका अध्यक्ष प्रकाशबहादुर खड्काले लामो समयसम्म काठ तथा दाउरा बिक्री वितरण र ओसारपसारमा रोक लगाउँदा संकलित वनपैदावारको गुणस्तर बिग्रिने र राज्यले नियमित रूपमा प्राप्त गर्ने राजस्वसमेत गुम्ने बताए ।
उनले प्रतिबन्धका कारण वनपैदावारमा आश्रित परिवार, सःमिल तथा फर्निचर व्यवसायी र अन्य व्यवसायी प्रभावित भएको बताए । उपभोक्ताले समेत दैनिक तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक काठ दाउरा सहज रूपमा पाउन नसकेको उनले बताए ।
वन नियमअनुसार लिलाम प्रक्रिया पूरा भइसकेका र राजस्वसमेत जम्मा गरिएका काठ तथा दाउराको ओसारपसारमा समेत रोक लगाउँदा प्रदेश तथा स्थानीय सरकारले प्राप्त गर्ने राजस्वमा असर परेको संघले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये आठ जिल्लामा काठ तथा दाउराको कारोबार खुला गरिएको तर कैलालीमा मात्रै प्रतिबन्ध कायम राखिएको भन्दै संघले असन्तुष्टि जनाएको छ । कैलालीलाई मात्रै प्रतिबन्धमा राखिनु विभेदपूर्ण व्यवहार भएको संघको ठहर छ ।
संघले तत्काल काठ तथा दाउराको संकलन, बिक्री वितरण र ओसारपसार खुला गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । माग सम्बोधन नभए आन्दोलनमा उत्रिन बाध्य हुनेसमेत संघले चेतावनी दिएको छ ।


